सुदूरपश्चिम

सुदूरपश्चिममा काेभिडका बिरामीलाई आइसीयू र भेन्टिलेटर अभाव

नवराज पनेरु |
कात्तिक २३, २०७७ आइतबार १३:३६ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित कोभिड अस्थायी अस्पताल कोभिड–१९ संक्रमितले भरिभराउ छ । प्रदेशमा गम्भीर प्रकृतिका संक्रमितको उपचार हुने एक मात्र अस्पतालमा बेड खाली छैन । गम्भीर प्रकृतिका विरामी थपिएको अवस्थामा उनीहरूलाई कहाँ राखेर उपचार गर्ने भन्ने पनि अन्यौल छ । 

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० श्यैयाको अस्थायी अस्पतालमा ४८ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ५० श्यैया उपलव्ध रहेकोमा ३२ जनाको जनरल वार्डमा र १६ जना गम्भीर संक्रमितको आइसियू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिए ।


सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पताल भर्ना हुनेमा सबैभन्दा धेरै कैलालीका ३७ जना संक्रमित छन् भने कञ्चनपुरका चार, डडेल्धुरा र अछामका दुई/दुई, दार्चुला, बझाङ र बैतडीका एक/एक जना संक्रमित रहेका छन् । 

‘जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्षकाे आईसीयू पनि भरिएको छ । भेन्टिलेटर पनि चार वटा मात्र खाली छ।’ सूचना अधिकारी श्रेष्ठले भने । १० श्यैयाको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्डसमेत अक्सिजनको उपलब्धता हुने गरी वैकल्पिक व्यवस्था गर्दै २० श्यैयाको बनाएको श्रेष्ठले बताए । तर अस्पताल भर्ना भएका १६ जना संक्रमितलाई आईसीयूमा राखेपछि थप गम्भीर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको हो । 

कोभिड अस्पताल संक्रमितले भरिभराउ भएपछि सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल घोषणा गरे पनि उपकरण विस्तारमा भने खासै चासो दिएको छैन । 

यता सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती र महाकाली अस्पतालमा गम्भीर संक्रमितको उपचारका लागि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर सेवाको व्यवस्था रहेको बताउँदै टीकापुर अस्पतालमा पनि उपकरण पठाइसकेको बताए ।

उनले अन्य जिल्ला अस्पतालमा पनि उपकरण र श्यैया विस्तारको कार्य भइरहेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या नौँ हजार नौँ सय २३ रहेको छ भने संक्रिय संक्रमितको संख्या एक हजार चार सय ५७ रहेको छ । 


Author

थप समाचार
x