सुदूरपश्चिम

बैतडी बस दुर्घटना : घाइते विमला अस्पतालको बेडमा श्रीमान करनसिंहलाई खोजिरहन्छिन्

करनसिंहको घटनास्थलमै मृत्यु भएको खबर विमलालाई परिवारले सुनाएका छैनन्

नवराज पनेरु |
कात्तिक २८, २०७७ शुक्रबार १८:२९ बजे

धनगढी : पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसमा बैतडीको दोगकेदार गाउँपालिका सेलनीकी २४ वर्षीया विमला कुँवर ऐरी पनि सवार थिइन् । एउटै सिटमा थिए उनका श्रीमान करनसिंह ऐरी र डेढ वर्षीय छोरा पनि । भाइटीका मनाउन कञ्चनपुरको बेलौरीमा रहेको माईती घरमा आउँदै थिए उनीहरु । करनसिंह र विमलाको निजामती सेवामा प्रवेश गर्ने लक्ष्य थियो । त्यस्कै तयारीका लागि उनीहरु भाइटीका मनाएर काठमाडौँ छिर्ने योजना बुनिरहेका थिए । 

चाडपर्वको समय भएकाले यात्रामा पनि मन दंग नै थियो ऐर दम्पत्तिको । बैतडीको पाटन पुग्दासम्म विमलालाई निन्द्राले पनि छोएको थिएन् । ‘छोराले दूध चुसिरहँदा नै कतिखेर निदाएछु पत्तै भएन्,’ उनले भनिन्, ‘होस खुल्दा बसको झ्यालबाट खस्दै गरेको पाए । त्यसपछि म भिरालो जमिनमा खसे । डेढ वर्षीय छोरा नजिकै रोइरहेको थियो । तर बस कतिखेर खस्यो थाहा नै भएन् ।’ दुर्घटनामा घाईते भएपछि डेढ वर्षीय छोरासंगै विमलालाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुर्‍याइयो । डडेल्धुरा अस्पतालले रेफर गरेपछि अहिले उनको र छोराको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । 


अस्पतालको शैय्याबाट उनले श्रीमान करनसिंहलाई खोजिरहेकी छिन् । श्रीमान करनसिंहको घटनास्थलमै मृत्यु भइसकेको जानकारी विमलालाई कसैले पनि दिएका छैनन् । आफन्तले डडेल्धुरामा उपचार भइरहेको छ भन्दै विमलालाई शान्त पारिरहेका छन् । दुर्घटनामा करनसिंहसहित नौँ जनाको मृत्यु भएको छ । 

कञ्चनपुर भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने वर्ष १५ की कृतिका कार्की, दार्चुला मालिकार्जुन गाउँपालिका डाडाकोटका जगन्नाथ ओझा, बैतडी दोगडाकेदार ६ सित्तडका कपिन्द्र प्रसाद जोशी, दार्चुला खरकडाका तर्कराज गिरी, बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, कंचनपुरको भिमदत्त नगरपालिका १० का बिज्नादेवी धामीको मृत्यु भएको हो । यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-१४ फुलबारीका नरेन्द्र चौधरी र सोही वडाको आदर्श टोलका ऋषीराम चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३४ जनाको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेहरूले थोत्रो बस चलाउँदा दुर्घटना भएको बताएका छन् भने बस चालक विरेन्द्र कार्कीले स्टार्ट बन्द र स्टेरिङ लक भएपछि दुर्घटना भएको बताउँदै आएका छन् । 

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले प्राविधिक गडबढी भएको र तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने बताए । यकिन कारण भने अहिले नै भन्‍न नसकिने गौतमले बताए । दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस बैतडीको खोड्पे नजिक दुर्घटना भएको थियो भने त्यस्को खबर प्रहरीले राति १०:२४ मा पाएको थियो । 
 


Author

थप समाचार
x