सुदूरपश्चिम

व्यवसायीले घेरे गोदावरी नगरपालिका

इकागज |
चैत १०, २०७९ शुक्रबार २०:१५ बजे

कैलाली- कैलालीको अत्तरिया बजारका व्यवसायीले गोदावरी नगरपालिका घेराउ गरेका छन् । अत्तरिया बजार क्षेत्रका व्यवसायीले पसल अगाडि निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेको भन्दै नगरपालिका घेराउ गरेका हुन् ।

शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायीले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रमण नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए ।


व्यवसायी दुर्गा कडायतले पसल अगाडि पाली नबनाएर बर्षातको पानी पसल भित्र जाने गरेको बताइन् । उनले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडि निर्माण गरेका पालीमात्रै हटाउने कार्य गलत भएको बताइन् ।

व्यवसायीले तत्काल पाली नहटाइदिन माग गरेका छन् । यता नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने बताएको छ । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निर्णय भएको बताए ।

उनले ७ दिने सूचना जारी गरिएपनि अतिक्रमण हटाउन अटेर गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेको प्रवक्ता भट्टले बताएका छन् । न्युजकारखाना


Author

थप समाचार
x