सुदूरपश्चिम

सुदूरपश्चिममा निषेधाज्ञापछि संक्रमण झन् बढ्यो, १८ दिनमै थपिए १५ हजार संक्रमित

नवराज पनेरु |
जेठ ३, २०७८ सोमबार १४:२२ बजे

धनगढी : १६ बैशाखदेखि कोभिड–१९ महामारीको दोस्रो लहर नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागु भयो । बैशाखकै तेस्रो सातादेखि सुदूरपश्चिमका अन्य जिल्लामा पनि निषेधाज्ञा लगाइयो । तर, निषेधाज्ञको अवधिमा नै कोभिड संक्रमण दर र मृत्यु दर भने झनै बढेको छ । 

प्रदेशमा रहेका कुल संक्रमितमध्ये झण्डै आधा संक्रमित निषेधाज्ञाको १८ दिनको अवधिमा थपिएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार १५ बैशाखसम्म सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमितको संख्या १५ हजार ४७५ थियो । १६ बैशाखदेखि जेठ २ सम्मको १८ दिन (निषेधाज्ञाको अवधि) मा १४ हजार ९४५ जना संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ३० हजार ४२० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 


निषेधाज्ञा जारी भएपछि सुदूरपश्चिम प्रदेशमा झण्डै ५५ हजारको कोभिड परीक्षण भएको छ । निषेधाज्ञाको अवधिमा कोभिड भाइरसको संक्रमण दर मात्रै नभएर मृत्यु दर पनि बढेको छ । १५ बैशाख सम्म अर्थात कोरोना संक्रमणबाट प्रदेशमा पहिलो मृत्यु भएको ११ महिनासम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६६ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङकमा उल्लेख छ । तर, निषेधाज्ञाको १८ दिनको अवधिमा मात्रै प्रदेशमा थप २६८ जनाको ज्यान गएको छ । औसतमा दैनिक १५ जना संक्रमितले ज्यान गुमाइरहेका छन् । योसँगै प्रदेशमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय ३४ पुगेको छ । 

निषेधाज्ञा लागु भएको एक सातासम्म संक्रमण र मृत्युदर धेरै बढी थिएन । १६ गते २४६, १७ गते १९१, १८ गते ४३३ जना, १९ गते ४७४, २० गते ३४३, २१ गते ६९९ र २२ गते ३८५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्याङक छ । निर्देशनालयका अनुसार वैशाख २३ गते ७८५, २४ गते ७५७, २५ गते ७५६,  २६ गते एक हजार ६७, २७ गते ६८९, २८ गते ८१८, २९ गते ८५७, ३० गते ८१०, ३१ गते ९६४, जेठ १ गते ७७४ र २ गते एक हजार ५७ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै वैशाख १६ गते चार, १७ गते चार, १८ गते १८, १९ गते १२, २० गते १४, २१ गते ८ र २२ गते ११ जनाको मृत्यु भएको छ । वैशाख २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७, ३१ गते ३०, जेठ १ गते १६ र २ गते २१ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । 
 


Author

थप समाचार
x