सुदूरपश्चिम

सुदूरपश्‍चिमका सामाजिक विकासमन्त्री भन्छन्, ‘प्रदेश सरकार सुत्यो भने सबै सुत्छ‍न्’

नवराज पनेरु |
जेठ ३, २०७८ सोमबार १५:२० बजे

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकारले काम नगरेको भन्दै भ्रम फैलाइएको आरोप लगाएका छन् । उद्योग वाणिज्य संघ कैलालीले कोभिड–१९ संक्रमण रोकथामका लागि भएका प्रयासबारे आयोजित कार्यक्रममा मन्त्री सुवेदीले यस्तो बताएका हुन् । 

‘प्रदेश सरकार सुतेको छैन्,’ उनले भने, ‘यस्ता भ्रामक सूचनालाई सत्य नमानिदिन आग्रह गर्न चाहन्छु । प्रदेश सरकार सुत्यो भने यहाँ त सबैै त्यसै सुत्नेवाला छन् ।’ उनले महामारी नियन्त्रणमा सबैभन्दा बढी काम नै प्रदेश सरकारले गरेको दाबी गरे । 


‘हामी जनताको सरकार । जनताप्रति उत्तरदायी सरकार । जनताकाबीचमा बाचा गरेर आएको सरकार । सुत्ने कुरै हुँदैन्,’ उनले भने । सुदूरपश्चिममा संक्रमितको उपचारका लागि शय्या र अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले कुनै काम नगरेको र सरकार सुतेको आरोप लाग्दै आएको छ । 

यस्तै कार्यक्रममा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पनि कोभिड नियन्त्रणमा प्रदेश सरकारले महत्वपूर्ण काम रेको दाबी गरे । 

संघीय सरकारले महामारीमा पनि प्रतिशोधको भावना दर्शाएको बताउँदै उनले भने, ‘महामारी नियन्त्रणका लागि सुदूरपश्चिममा कुनै टोली संघीय सरकारले पठाएको छैन् ।’ 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणका लागि सुदूरपश्चिम पठाएको टोलीलाई प्रदेश सरकारले फिर्ता पठाएको अभिव्यक्ति दिएका थिए । कार्यक्रममा संक्रमण र मृत्यु दर रोकथाम तथा उपचारको प्रभावकारी व्यवस्थापनका विषयमा छलफल भएको उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।


Author

थप समाचार
x