सुदूरपश्चिम

महामारीमा दोब्‍बर बढी मूल्‍यमा अक्सिजन बिक्री: सञ्‍चालक भन्छन्, ‘घाटामा उद्योग चलाउन सकिदैन’

नवराज पनेरु |
जेठ १०, २०७८ सोमबार १५:१९ बजे

धनगढी : कोभिड–१९ महामारीको समयमा सुदूरपश्चिममा रहेको एकमात्र धनगढीस्‍थित मालिका ग्यास उद्योगले मनपरी शुल्क लिएको गुनासो उपभोक्ताले गरेका छन् । अक्सिजन खरिद गर्ने उपभोक्ताले तोकिएको भन्दा दोब्बर बढी मूल्य लिएको गुनासो गरेका हुन् । कोभिड संक्रमित बहिनीका लागि उद्योगबाट अक्सिजन खरिद गरेका धनगढीका एक युवकले भने, ‘प्रति सिलिण्डर चार-सय रुपैँया पर्छ भन्ने सुनेको थिएँ । तर उद्यागेले एक सिलिण्डरको नौँ सय रुपैँया लियो ।’ उनका अनुसार नौ सयमा पनि अक्सिजन पाउन हम्मेहम्मे परेको थियो ।

उद्योगले सेती प्रादेशिक अस्पताललाई चार सय रुपैयाँका दरले प्रति अक्सिजन सिलिण्डर उपलब्ध गराउने सहमति पनि गरेको थियो । तर, उद्योगले सेती प्रादेशिक अस्पताललाई गर्ने अक्सिजनको आपूर्तिमा व्यापक कटौती गरेको छ । तर, अन्यलाई भने महँगोमा अक्सिजन बिक्री गरिरहेको गुनासो उपभोक्ताको छ । प्रादेशिक अस्पतालका अनुसार मालिका उद्योगले अहिले अस्पताललाई दैनिक ८ देखि १० सिलिण्डर अक्सिजन मात्रै उपलब्ध गराइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पताललाई भने चार सयका दरले नै अक्सिजन उपलब्ध भइरहेको बताए । 


प्रादेशिक अस्पताललाई चार सयमा अक्सिजन उपल्ब्ध गराइरहेको मालिका उद्योगले अन्य अस्पताल र व्यक्तिलाई भने प्रति सिलिण्डर एक हजार पाँच सयसम्ममा लिने गरेको छ। उद्योगका सञ्चालक नरेश शाहले केही दिनसम्म एक हजार पाँच सय रुपैयाँमा अक्सिजन सिलिण्डर बिक्री गरेको स्वीकार गरे । ‘सामान्य समयमा विद्युत महसुल कम पर्ने रातिको समयमा ८ घण्टा मात्रै उद्योग सञ्चालन गर्ने गरेका थियौँ,’ शाहले भने, ‘तर अहिले महामारीमा अक्सिजनको माग बढेपछि २४ घण्टा नै उद्योग चलाइरहेका छौ । विगतमा मासिक दुई लाख विद्युत महसुल आउने ठाउँमा अहिले ६ लाख आइरहेको छ । उद्योगमा कामदारको संख्या पनि बढेको छ । लागत बढेपछि अक्सिजन पनि महँगोमा बिक्री गर्नुपर्ने बाध्यता आएको हो ।’ उनले विगतमा तीन जना कामदारले उद्योग चलाइरहेकोमा अहिले कामदारको संख्या पनि ८ जना पुगेको बताए । ‘अक्सिजन उत्पादनमा ह्वात्तै लागत बढेको छ । विगतकै मूल्यमा बिक्री गरेर घाटामा उद्योग चलाउन सकिदैन्,’ उनले भने । 

प्रशासनले सोध्यो स्पष्टीकरण
चर्को मूल्यमा अक्सिजन बिक्री वितरण गरिरहेको गुनासोपछि मालिका अक्सिजन उद्योगका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय कैलालीले स्पष्टीकरण सोधेको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले उद्योग सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर स्पष्टीकरण सोधेको बताए । 

‘मौखिक जवाफमा उद्योग सञ्चालकले बढी मूल्य नलिएको दाबी गरेको तर लिखित स्पष्टीकरण भने बुझाउनू भनेर निर्देशन दिएका छौ,’ चौधरीले भने । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अक्सिजन उत्पादनको लागत बढेको र मूल्य पनि बढाउन पर्ने माग गद्योगबाट आएको बताए । 
‘महामारीको समयमा मूल्य बढाउँदा ठिक हुँदैन भनेर हामीले उद्योग सञ्चालकलाई भनेका छौ,’ जोशीले भने, ‘आज पनि हामी उद्योगको अनुगमनमा गइरहेका छौ । चर्को मूल्यमा बिक्री गरेको पाइएमा कारबाही हुन्छ ।’ यता उद्योग सञ्चालक शाहले प्रशासनले स्पष्टीकरण सोधेपछि अहिले ७/८ सय रुपैँयामा अक्सिजन सिलिण्डर बिक्री गरिरहेको बताए ।


Author

थप समाचार
x