सुदूरपश्चिम

रेशम चौधरीको जन्मकैद फैसला सदर, छुटेका लक्ष्मणलाई पनि जन्मकैद

नवराज पनेरु |
पुस ३, २०७७ शुक्रबार ७:३५ बजे

कैलाली : टीकापुर घटनाका मुख्य योजनाकार भनिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले पनि सदर गरेको छ । उच्च अदालत दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालतको आदेश सदर गरेको हो । उच्च अदालतले तीन वर्ष कैद भुत्तान गरेर रिहा भएका लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा यस्तो फैसला सुनाएको हो । इजलासले प्रतिवादीहरु रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्लाको फैसला नै सदर गरेको हो ।


अदालतले उनीहरुलाई सातै जनालाई ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सजाय सुनाएको छ । डाँका मुद्दामा समेत सजाय गरिपाउँ भन्‍ने सरकारको पुनरावेदन भने उच्च अदालतले खारेज गरेको छ । एक बालकसहित आठ जनाको ज्यान लिनेगरि उक्त घटना २०७२ भदौ ७ गते भएको थियो  । जिल्ला अदालतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो ।

यस्तै अदालतले सन्तोष चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई जनही १० वर्षको सजाय सुनाएको छ । जिल्लाको फैसला उल्ट्याउदै  अदालतले उनीहरुलाई १० वर्षको सजाय गरेको हो । ज्यान मार्ने उद्योगमा समेत पाँच वर्ष सजाय तोकिएको छ ।

अदालतले नाबालक श्रवणकुमार चौधरीलाई जन्मकैदको आधा सजाय हुनेगरी जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ । प्रतिवादी सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई अदालतले जनही पाँच वर्षको कैद सजाय सुनाएको छ ।

यस्तै रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रमेबहादुर चौधरीलाई पनि अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । अदालतले चुन्‍नीराम चौधरी र रामकुमार कठरियालाई जनही तीन वर्ष सजाय हुने जिल्ला अदालतकै आदेश सदर गरेको छ । उच्चले यसअघि जिल्लाले दोषी ठहर गरेका विश्राम चौधरीलाई भने अभियोगबाट सफाइ हुने फैसला गरेको छ ।

रामनरेश चौधरी, तहाँबर अलीलाई सफाइ दिने जिल्लाको फैसला पनि उच्चले सदर गरेको छ । यस्तै, नाबालक करण चौधरीलाई ६ महिना कैद सजाय हुनेगरि जिल्ला अदालतले गरेको फैसला समेत अदालतले सदर गरेको छ । यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । यस्तै १२ जनालाई तीन वर्ष, एक जनालाई ६ महिना र अभियुक्तमध्ये तीन जनाले सफाइ पाएका थिए ।


Author

थप समाचार
x