सुदूरपश्चिम

कैलालीमा प्रहरी हत्या प्रकरण : प्रहरीद्वारा आरोपित ७ जना सार्वजनिक

नवराज पनेरु |
कात्तिक ४, २०७७ मंगलबार १८:४१ बजे

धनगढी : प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका  सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका पत्रकार सम्मेलनमा जानकारी दिइयो । 


उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ । गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए । उनीहरु अर्कोदिन बिहानसम्म पनि सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको पनि शव फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि दुई सय मिटर तल मोहना नदीमै साउदको शव भेटिएको थियो ।
 


Author

थप समाचार
x