सुदूरपश्चिम

प्रहरी हत्या आरोपमा सात जना सार्वजनिक

नवराज पनेरु |
कात्तिक ५, २०७७ बुधबार ६:५७ बजे

धनगढी : धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज तथा प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।


उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ । गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राति १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल-भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि दुई सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।
 


Author

थप समाचार
x