सुदूरपश्चिम

तस्करी गर्न नपाएपछि प्रहरीको हत्या

'बिकमाथि फरुवा प्रहार, साउद लखेटीलखेटी मारिए'

नवराज पनेरु |
कात्तिक ६, २०७७ बिहीबार ७:२४ बजे

धनगढी : कार्तिक १ गते घटस्थापनाको राति ८ बजे धनगढीस्थित अस्थायी प्रहरी चौकी जुगेडाको टोली नियमित गस्तीमा निस्कियो । टोलीमा चौकी इन्चार्ज तथा प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद थिए । उनीहरु मोटरसाइकलमा सवार थिए । राति साढे १० बजेपछि दुबै जना सम्पर्कविहिन भए । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरु बेपत्ता भएको खबर दोस्रो दिन अर्थात २ गते बिहान पाएपछि उनीहरु दुबै जनाको खोजी सुरु गर्‍यो ।

खोजीकै क्रममा २ गते विहान ९ बजे प्रहरी सहायक निरिक्षक बिक मृत फेला परे भने त्यस्को दुई दिनपछि ४ गते बिहान १० बजे प्रहरी जवान साउद पनि मृत फेला परे । दुवै जनाको घरेलु हतियार प्रयोग गरेर विभत्स हत्या गरिएको थियो । प्रहरीले असई बिक मृत फेला परेपछि नै तस्करको समूहले हत्या गरेको आशंका गर्दै अनुसन्धान सोहीतर्फ केन्द्रित पारेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने, ‘घटनाको अनुसन्धानका लागि सो क्षेत्रमा अपराधिक पृष्ठभुमी भएका दुई दर्जन व्यक्तिलाई पक्राउ गरेका थियौं । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका सात जनाले अभियोग स्वीकार गरेपछि हामीले सार्वजनिक गरेका छौं ।’


उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० वस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गव्वर भन्ने राजकुमार राना, २२ वर्षीय रान निवास राना, २९ वर्षीय दलराम राना, वडा नम्वर ११ का २५ वर्षीय गोपाल राना रहेका छन् । प्रहरी नायव उपरिक्षक विष्टले बुधवार विहान थप एक जनालाई हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरिएको छ । उनीहरुविरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दर्ता भएको छ ।

‘नेपाल-भारत सीमा नदी मोहनाको चार सय मिटर टाढा तस्करीमा संलग्न व्यक्ति पक्राउ गर्ने र सामान बरामद गर्ने क्रममा असई र प्रहरी जवानमाथि आक्रमण भएको हो,’ प्रहरी नायव उपरिक्षक विष्टले थपे, ‘तस्करी गर्न नपाएपछि तस्करहरुले घरेलु हतियार प्रहार गर्दै दुवैको सोही क्षेत्रमा हत्या गरेको स्वीकार गरेका छन् । अपराध ढाकछोप गर्नका लागि चार सय मिटर टाढा रहेको मोहना नदीमा खाल्डो खनेर शव लुकाईएको थियो ।’

उनका अनुसार नेपालबाट भारत मटर (केराउ) तस्करी गर्न नपाएपछि प्रहरीद्वयको हत्या गरिएको हो । प्रहरीका अनुसार सुरुमा उनीहरुले प्रहरी जवान र असईलाई पैसा दिएर केराउ भारततर्फ तस्करी गर्न दिन प्रयास गरेको र प्रहरीले अस्विकार गरेपछि हत्या गरेको अभियुक्तले बयानको क्रममा स्वीकार गरेका छन् । उनीहरुले असई र प्रहरी जवानको हत्या गरेपछि गोरुगाडामा राखेर मटर भारत पुर्‍याएका बयान दिएका छन् ।

असई बिकसँग पेस्तोल भए पनि पेस्तोल निकाल्न नपाउँदै उनीमाथि फरुवाले प्रहार भएको प्रहरीले जनाएको छ । सुरुमा असई विकको हत्या गरिसकेपछि तस्करहरुले प्रहरी जवान साउदको लखेटीलखेटी हत्या गरेको प्रहरी स्रोत बताउँछ ।

त्यो घटनाको दुई दिनअघि पनि भारतवाट तस्करी गरि ल्याएको सुर्तीजन्य पदार्थ असई विकको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद गरेको थियो । घटनास्थापनको दिन तस्करहरुको समूह अस्थायी प्रहरी पोष्टमा पुगेर असईलाई भटेर तस्करीका लागि सेटिङ मिलाउने कोसिस गरेको र असईले अस्विकार गरेपछि असई तस्करको निशानामा रहेको प्रहरी स्रोत बताउँछ ।

तीन महिना अघि मात्र अस्थाई प्रहरी पोष्ट जुगेडमा खटाइएका असई बिकको घर कञ्चनपुर पुनर्वास नगरपालिका-९ घर हो । उनी नौँ वर्षको हुदा बुवाको मृत्यु भएको थियो भने उनी भूमिहिन परिवारका हुन । उनका ५० वर्षीया आमा, श्रीमती र दुई छोरी छन् । अछामको जयगढ निवासी साउद २०६७ सालमा नेपाली प्रहरी सेवामा प्रवेश गरेका थिए । साउदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । 
 


Author

थप समाचार
x