सुदूरपश्चिम

९२ पटक रक्तदान गर्ने पत्रकार

नवराज पनेरु |
माघ ५, २०७७ सोमबार १२:५३ बजे

दीपक उपाध्याय नेपाल

धनगढी : कैलालीको धनगढीका दीपक उपाध्याय नेपालले हालसम्म ९२ पटक रक्तदान गरिसकेका छन् । ९२ पल्टमा उनले दान गरेको रगतको परिमाण ४६ लिटर हुन्‍छ। एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिन्छ । जसका आधारमा उनले दान गरेको रगतले दुई सय ७६ जनाको जीवन बचाउन सहयोग पुगेको छ । 

उनी धनगढीका लागि रक्तसञ्चार केन्द्र नै हुन् । अस्पतालमा रगतको खोजीमा तड्पिरहेका विरामीलाई रगतको व्यवस्थापन गर्छन दिपकले । पेशाले उनी पत्रकार हुन् । पत्रकारसंगै उनलाई कीर्तिमानी रक्तदाता भनेर चिन्ने पनि कम्ति छैनन् ।


झण्डै साढे दुई दशकअगाडि बिरामी आफन्तलाई भेट्न उनी सेती प्रादेशिक अस्पतालको आकस्मिक वार्डमा पुगे । दुर्घटनामा घाइते भएका रिक्सा चालकलाई उपचारका लागि अस्पताल पुर्याइएको रहेछ । घाइतको साथमा आफन्त कोही थिएनन् । दीपक भन्छन्, ‘उनलाई ए पोजेटिभ रगत चाहिएको रहेछ । पहिलो पटक मैले उनकै लागि रक्तदान गरे । त्यसपछि तीन महिनाको अन्तरमा नियमित रक्तदान गर्दै आएको छु ।’ दीपक नियमित रक्तदाता हुनुमा दाई विनोदलाई श्रेय दिन्छन् ।  उनका अनुसार विनोद पनि नियमित रक्तदाता हुन् । 

तीन वर्ष अगाडिको कुरा हो, दीपकलाई सेती प्रादेशिक अस्पतालबाट ए पोजेटिभ रगत आवश्यक भएको भन्दै स्वास्थ्यकर्मीको फोन आयो । उनी केही समयमै प्रादेशिक अस्पतालमा पुगे । बिरामी रहेछन्, सिकलसेल एनिमियाको । ‘अस्पताल पुगेर मैले रगत दिएँ । तर उनलाई बचाउन सकिएन् । मेरो जिवनको दुखद अनुभव हो त्यो,’ दीपकले भने । त्यसअघिको कुरा हो, रक्तसञ्चार केन्द्र धनगढीबाट दीपकलाई फोन आयो । सुत्केरीलाई ए पोजेटिभ रगत चाहियो । दीपक रगत दिएर फर्किए । केही दिनमा ति महिला ज्यान जोगाइदिएको भन्दै धन्यवाद ज्ञापन गर्न दीपक कार्यरत कार्यालयमै पुगिन् । दीपक भन्छन्, ‘यसरी कार्यालयमै भेट्न आउँदा मलाई पनि खुसी लाग्यो । त्यसपछि म उनको बच्चा हेर्नलाई पनि गएँ ।’ 

बिहान उठेपछि दीपकको पहिलो काम रक्तसञ्चार केन्द्रमा फोन गर्नु हो । उनी रगतको उपलव्धताको विषयमा बुझ्छन् । यदि कुनै समूहको रगतको अभाव भए सामाजिक सञ्जाल फेसबुकमा ‘बचाऔं कसैको ज्यान, आउनुस गरौ रक्तदान’ भन्दै स्टाटस लेख्छन् । त्यति मात्रै होइन्, सामाजिक कार्यमा सक्रिय संस्थाहरूलाई रक्तदान गर्न उनी आग्रह गरिरहन्छन् । त्यसैले पनि धनगढीमा कसैलाई रगत चाहिए पहिलो फोन दीपकलाई नै जान्छ ।

उनी भन्छन्, ‘रगत चाहियो भनेर मध्यरातमा पनि फोन आउँछ । आफुले दिन मिल्ने भए त दिएर पनि आउँछु तर दिन नमिल्ने भए रगतको व्यवस्थापन गरिदिन्छु । बिरामीले रगत नपाउँदासम्म निन्द्रा लाग्दैन् ।’दीपक रक्तदान कार्यक्रम गर्नुभन्दा पनि नियमित रक्तदाताको संख्या बढाउँदा रगत नपाएर ज्यान गुमानउनुपर्ने समस्या समाधान हुने बताउँछन् । उनले अगाडि थपे, ‘नियमित रक्तदाताको संख्या बढाउन सकियो भने रक्तसञ्चार केन्द्रमा रगतको अभाव नै हुँदैन् । 

रक्तदान कार्यक्रमले रगत होल्ड हुन्छ । बिरामीलाई फ्रेस ब्लड चाहिएमा पाउन मुस्किल हुन्छ ।’ नेपाल रेडक्रस सोसाईटी कैलालीका सभापति उत्तम जोशीले पश्चिम नेपालमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्न दीपक नेपालको भूमिका महत्वपूर्ण रहेको बताए । ‘रगतको विकल्प रगत नै हो,’ जोशीले भने, ‘दीपक जी जस्ता व्यक्तिकै कारण रक्तसञ्चार केन्द्र सञ्चालन भइरहेको छ । उनले आफुले मात्रै रगत दिदैनन् अन्यलाई पनि रक्तदान गर्न प्रेरणा दिएका छन् । दीपक जीसंग मिलेर रेडक्रसले पनि कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको छ ।’


Author

थप समाचार
x