सुदूरपश्चिम

सुदूरपश्चिममा स्वास्थ्य निर्देशकले लगाए पहिलो खोप

नवराज पनेरु |
माघ १४, २०७७ बुधबार ११:५१ बजे

धनगढी : सुदूरपश्चिममा पनि बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले खोप अभियानको सुरुवात गरे । 

प्रादेशिक अस्पतालसहित सुदूरपश्चिमका नौँ वटै जिल्लाका १० वटा खोप केन्द्रबाट अभियान सुरु भएको हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीकाअनुसार प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले पहिलो खोप लगाएका छन् । 


कार्कीले सुदूरपश्चिमका लागि १६ हजार २ सय ९३ जनालाई पुग्ने ३६ हजार डोज खोप सोमबार धनगढी पुगेको र सबै जिल्लाको खोप केन्द्रमा पठाएर लगाउन थालिएको जानकारी दिए । 

कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल र प्रदेशका बाँकी सात वटा जिल्लामा जिल्ला अस्पतालमार्फत खोप लगाउन थालिएको कार्कीले बताए । ‘पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा खोप लगाउँदैछौ,’ कार्कीले भने, ‘शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप नलगाउन भनेका छौ ।’
कार्कीकाअनुसार कैलालीमा तीन हजार सात सय ३७, कञ्चनपुरमा दुई हजार पाँच सय ४५, बैतडीमा एक हजार नौँ सय ९६, अछाममा एक हजार ८ सय ७१ र डोटीमा एक हजार चार सय ६१ जनालाई पहिलो चरणको खोप लगाइने छ । 

यस्तै बझाङमा एक हजार चार सय नौँ, दार्चुलामा एक हजार दुई सय ५१, डडेल्धुरामा एक हजार एक सय ३५ र बाजुरामा ८ सय ९० जनालाई खोप लगाइने प्रवक्ता कार्कीले बताए । 


Author

थप समाचार
x