सुदूरपश्चिम

बझाङ हत्या प्रकरण : वडाध्यक्षसहित थप तीन जना पक्राउ, चैनपुर बजार बन्द

दोषीलाई कारबाही गर्न कांग्रेसको माग

नवराज पनेरु |
माघ १४, २०७७ बुधबार १५:१७ बजे

धनगढी : बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप तीन जना पक्राउ परेका छन् । खुँडा प्रहारगरी छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्‍न भएको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, प्रकाश ऐडी र केदार ऐडीलाई पक्राउ गरिएको खड्काले बताए । सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायतलाई यसअघि नै पक्राउ गरिएको थियो ।


छबिसपाथिभेरा गाउँपालिका–३ को बन्‍नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहराले नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामीलाई २८ मतले पराजीत गरेका थिए । हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन् । 

यस्तै सिंहको हत्यामा संलग‍्‍नलाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ र स्थानीयले सदरमुकाम बन्द गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले नेकपाका नेता तथा कार्यकर्ताले सिंहको हत्या गरेको आरोप लगाएका छन् ।

सिंहको हत्यामा संलग्‍नलाई कारबाहीको माग गर्दै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन् ।

दोषीलाई कारबाही गर्न कांग्रेसको माग

बझाङमा भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल तरुण दलका स्थानीय नेता सिंहलाई नेकपा कार्यकर्ताले धारिलो हतियार प्रहारगरी हत्या गरेको भन्दै घटनाको भत्र्सना गरेको हाे । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनामा संलग्‍न आक्रमणकारीहरूको तत्काल खोजीगरी कारबाही गर्न माग गरेका छन् । 

‘सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो,’ विज्ञप्तिमा भनिएको छ, नागरिकको बाँच्‍न पाउने संविधानप्रदत्त अधिकारमाथि नेकपाका कार्यकर्ताहरूले खुलेआम चुनौति दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेकपालाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।’


Author

थप समाचार
x