सुदूरपश्चिम

पति वियोगको डेढ महिनामै छोरी गुमाएकी दुरा भन्छिन्, ‘अब त आँशु आउनै छोड्यो’

प्रहरी भन्‍छ, अपराधीको नजिक पुगेका छौँ

नवराज पनेरु |
माघ २५, २०७७ आइतबार १५:३ बजे

बलात्कारपछि हत्या गरिएकी भागरथीकी आमा दुराका साथमा बोलन्या थलीका संयोजक यादव जोशी ।

धनगढी : डेढ महिनाअघि सुगरका बिरामी श्रीमानले संसार छोड्दा बैतडी दोगडाकेदारकी-७ चडेपानीकी दुरा भट्टको सिन्धुर पुछियो । पति वियोगको आँसु थामिएका थिएनन् बुधबार विद्यालय गएकी १७ वर्षकी छोरी भागरथी घर फर्किनन् । 

आफन्तले साथीको घरमा गएको वा कोही केटासँग भागेको हुनसक्‍ने अनुमान गरे । सोही अनुमान दुराको पनि थियो । ठाउँठाउँमा सार्वजनिक सवारी जाँचसमेत गरियो । दिन ढल्यो तर भागरथीको पत्तो लागेन ।


दोस्रो दिन उनको हुलियासहित खोचलेक प्रहरी चौकीमा निवेदन दर्ता भयो । दुराको मन भन्थ्यो, भागरथीलाई केही भएको छैन् । बिहीबार चडेपानीका तीन जना विद्यार्थीले बाटो छेउको झाडीमा भागरथीको शव भेट्टाए । उनको मृत शरीर देख्दा सिंगो गाउँ रोयो । आँशु नझार्ने कोही थिएनन् । 

डेढ महिनाअघि पति वियोग र अहिले छोरी गुमाएकी दुराको भने आँसु सुकिसकेको छ । छोरीको बलात्कारपछि हत्या भएको र सबैलाई चटक्कै छोडेर गएको पत्यार लागिरहेको छैने दुरालाई ।

मृतकको घरमै पुगेका बोलन्या थलीका संयोजक यादव जोशीलाई दुराले भनिन्, ‘अब त आँसु आउनै छोडिसक्यो । छोरीको हत्यारालाई काटेर नुनचुक हाल्ने मन छ । बरु म पन झेलखाना (जेल) मै बसुला ।’ 

घर खर्च चलाउन र बहिनीको पढाइ खर्च जुटाउन समस्या भएपछि कक्षा १० मा पढ्दापढ्दै भागरथीका दाइ भारत पसेका थिए । उनका दुई दिदीको बिहे भइसकेको छ । 

प्रहरी भन्‍छ, अपराधीको नजिक पुगेका छौँ

यसअघि परिवार र आफन्तले भागरथीको बलात्कारपछि हत्या भएको बताउँदै आएकोमा अहिले प्रहरी पनि सोही निष्कर्षमा पुगेको । प्रारम्भिक अनुसन्धानमा भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष प्रहरीले निकालेको हो । 

उक्त घटनाको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय र सीआईबीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरिएकोमा आज सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी पनि बैतडी पुगेका छन् । 

उनले घटनाको अनुसन्धानबारे जानकारी लिनेछन् । अनुसन्धानमा संलग्‍न अधिकारीहरूले घटनास्थलबाट मोबाइलसहित फेला परेका प्रमाणले अपराधीको नजिक पुगाएको बताएका छन् ।
 
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ट उपरीक्षक मुकेश सिंहले अपराधमा संलग‍न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने दाबी गर्दै अपराधीको नजिक पुगेको बताए ।

बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको मोबाइल ‘रिकभर’ गरिदै छ । घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो-भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो । भागरथीले भारतीय सीमकार्ड प्रयोग गर्दै आएको खुलेको छ ।

याे पनि 

गृहमन्त्रीको त्यो अभिव्‍यक्‍ति र भागरथीको यो हत्याकाण्‍ड...

 


Author

थप समाचार
x