सुदूरपश्चिम

भागरथी हत्या प्रकरण : पक्राउ परेका व्यक्ति नै दोषी हुन सक्ने प्रहरीको दाबी

नवराज पनेरु |
फागुन ४, २०७७ मंगलबार १६:४३ बजे

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्ट

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका-७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्‍न रहेको आशंकामा प्रहरीले एक पुरुषलाई कञ्‍चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । उनी नै दोषी हुन सक्छन् भन्‍ने केही तथ्यहरू प्राप्त भएको प्रहरीको दाबी छ ।

'केही तथ्य हामीले प्राप्त गरेका छौं । अनुसन्धानकै क्रममा रहेकाले अहिले भन्‍न मिल्दैन,' सुदूरपश्‍चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले इकागजसँग भने । 


स्रोत भन्छ, ‘भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट नजिकै रहेको खोचलेक बजारमा रहेको पाइएको छ । जहाँ भागरथी पनि थिइन् । जब भागरथी खोचलेक बजारबाट घरतर्फ लागिन् ती पुरुष पनि त्यहाँबाट निस्किएको पाइएको छ ।’ 

प्रहरी स्रोतकाअनुसार पक्राउ परेका व्यक्तिको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर गएको र त्यहाँबाट भारत जाने तयारीमा रहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले भागरथी वेपत्ता भएको दिनपछि चडेपानी छोडेका व्यक्तिमाथि निगरानी बढाउने क्रममा उनलाई पनि पक्राउ गरेको जनाएको छ । उनको संलग्‍नतालाई पुष्टि गर्न डिएनए टेष्ट गर्नुपर्ने प्रहरीले जनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भागरथीको हत्यामा संलग्‍नलाई छिट्टै सार्वजनिक गरिने बताए । उनले भने, ‘हामी हत्याराको नजिक पुगिसकेका छौ । विधिविज्ञान प्रयोगशालामा पठाएको तथ्यको रिपोर्ट पनि आउँदैछ । छिट्टै सार्वजनिक गर्छाै ।’ 

 २१ माघमा विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भट्टको दोस्रो दिन शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टपछि भट्टको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
 


Author

थप समाचार
x