सुदूरपश्चिम

भागरथी बलात्कार/हत्या प्रकरण

भागरथी र दिनेश नजन्‍मिँदै भएको त्‍यो घटना

नवराज पनेरु |
फागुन ६, २०७७ बिहीबार १३:३५ बजे

धनगढी : बैतडीकी किशोरी भागरथी भट्टको हत्या गरेको अभियोगमा १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेको छ । दिनेशले भागरथीको हत्या गरेको साविती बयान दिएको दाबी प्रहरीको छ । दुई परिवारबीच विगतमा मनमुटाव भएको र प्रतिशोध साध्‍न दिनेशले हत्या गरेको दाबी पनि प्रहरीले गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘दिनेश भट्टले दुई परिवारबीच विगतमा विवाद भएको र बदलाको भावले यो अपराध गरेको साबिती बयान दिएका छन् ।’ दिनेशले आफ्नो परिवारको महिला सदस्यमाथि भागरथीका बुवाले वर्षौँ पहिले यौन दुर्व्यवहार गरेको र सोही कारण भागरथीको हत्या गरेको बयान अनुसन्धानमा संलग्‍न अधिकारीहरुलाई दिएका थिए ।


दिनेश र भागरथीको परिवारबीच विगतमा उक्त विषयमा विवाद भएको गाउँलेहरुले बताएका छन् । भागरथीका काका शिवराज भट्टले इकागजसँग भने, ‘भागरथीका बुवामाथि दुर्व्यवहारको आरोप लागेको कुरा मैले पनि सुनेको थिएँ । झण्डै ३०/३५ वर्ष अगाडि जबरजस्तीकरणीको मुद्दा चलेको र भागरथीका बुवालाई जेल सजाय पनि भएको सुनिन्थ्यो ।’

भागरथी र आरोपित किशोर दिनेश जन्मिनुभन्दा अगाडि भएको उक्त घटनाको बदला दिनेशले अहिले लिए होलान त ? भन्‍नेमा आशंका भने व्यक्त गरिएको छ । भागरथीकी आमा दुरा भट्टले पनि पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्‍न भएको भन्‍ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन् । ‘घटना भएको दिन दिनेश घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ । उसले देखिन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । दिनेश भागरथीको भाइ हो, मेरो छोरो पर्छ । एक्लैले कसरी मार्‍यो भागरथीलाई ?’ भागरथीकी आमा दुराले भनिन् ।

यता दिनेशले भने भागरथीका परिवारसँग पनि आफूले नै हत्या गरेको कुरा बताएका छन् । भागरथीको शव बुझ्‍न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई दिनेशसँग भेटाएर कुराकानी गर्न लगाएकोमा सो क्रममा उनले भागरथीको हत्या गरेको बताएको मृतकका काका शिवराज भट्टले बताए । २१ माघमा वेपत्ता भएकी भागरथीको शव २२ माघमा फेला परेको थियो । पोष्टमार्टममा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।


Author

थप समाचार
x