सुदूरपश्चिम

भागरथी प्रकरण : अभियुक्तले बयान फेरे, अब के हुन्छ ? को हुन् दिनेशले आरोप लगाएका कर्मचारी ?

नवराज पनेरु |
चैत ११, २०७७ बुधबार ७:३३ बजे

धनगढी : बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी बैतडीकी किशोरी भागरथी भट्ट प्रकरणमा अभियुक्तले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि डोटीको दीपायलस्थित सुधार गृहमा रहेका अभियुक्त दिनेश भट्टले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लनलाई आफूले देखेको भन्दै बताएका हुन् ।

उनले बयान फेर्दै भनेका छन्, ‘विद्यालयबाट घर फर्कने बेला भागरथीलाई मारेको देखेको हुँ । कसैलाई भनेमा तिम्रो बुवा र भाईलाई समेत मारिदिन्छु भन्‍ने धम्की दिएपछि झुटो बोलेर हत्याको आरोप स्वीकार गरेको हुँ ।’ यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेएको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए ।


अहिले पुर्पक्षमा रहेको अवस्थामा अभियुक्तले गरेको दाबीले कानुनी मान्यता नपाउने दाबी प्रहरीको छ । प्रहरीको अनुसन्धानपछि सरकारी वकिल हुँदै अदालतमा समेत बलात्कारपछि आफूले नै भागरथीको हत्या गरेको स्वीकार गरेको तथ्य र प्रमाणले समेत उनकै संलग्‍नता पुष्टि गरेको अवस्थामा अहिले आएर अभियुक्तले आफूले अपराध नगरेको भन्‍ने कुराले कानुनी मान्यता नपाउने दाबी प्रहरीले गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले मुद्दा अदालतमा विचाराधिन रहेकाले धेरै कुरा बोल्न नमिल्ने बताउँदै इकागजसँग भने, ‘अनुसन्धान सकेर मुद्दा अदालतमा गइसकेको अवस्थामा अभियुक्तले बोल्ने कुराको कानुनी मान्यता हुँदैन् ।’ जिल्ला अदालतले प्रारम्भिक सुनुवाई गर्दै पुर्पक्षमा पठाइसकेको अवस्थामा प्रहरीको भूमिकासमेत नहुने उनी बताउँछन् । तर प्रतिवादीको तर्फबाट वकालत गर्ने वकिलहरूले अभियुक्तले आरोप लगाएका व्यक्तिको संलग्‍नता देखिने महत्वपूर्ण प्रमाण अदालतमा पेश गर्न सकेमा तिनको परीक्षणका लागि अदालतले नै आवश्यक प्रक्रिया थाल्न सक्ने व्यवस्था रहेको छ । अदालतको अन्तिम फैसलामा चित्त नबुझेको खण्डमा पुनरावेदन गर्न सक्ने कानुनी अधिकारी वादी र प्रतिवादी दुवै पक्षसँग समेत रहेको छ ।

को हुन् दिनेशले आरोप लगाएका कर्मचारी ? 
पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका अभियुक्त दिनेशले आरोप व्यक्ति दोगडाकेदार गाउँपालिकाकै कर्मचारी हुन् । उनी गाउँपालिका-७ का प्राविधिक कर्मचारी हुन् । मृतक भागरथी र अभियुक्त दिनेश पनि सोही वडाका हुन् । बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी भागरथी भट्टको हत्या प्रकरणमा भएको अनुसन्धानको क्रममा अभियुक्त दिनेशले अहिले आरोप लगाएका कर्मचारी पनि अनुसन्धानको घेरामा थिए ।

ति कर्मचारीलाई प्रहरीले सो समयमा महेन्द्रनगरबाट पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा उनको संग्लनता नदेखिएपछि उनी छुटेका थिए । एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धानका क्रममा उनी घटना भएको दिन कार्यालयमै रहेको खुलेपछि उनलाई हिरासतबाट छोडिएको हो ।’ सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।


Author

थप समाचार
x