स्थानीय सरकारसँग संवाद

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद शृंखला-१९

पालिकामध्ये देशभरमै पछि छौँ, शिक्षा र रोजगारी प्राथमिकता छ

अतिन आचार्य |
फागुन ८, २०७८ आइतबार ९:११ बजे

बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका विकास र समृद्धिमा पछाडि छ । ७५३ स्थानीय तहमध्ये यो गाउँपालिका विकास सूचकांकमा सबैभन्दा तल छ । गरिबीको प्रतिशत ६० प्रतिशतभन्दा माथि छ । स्थानीय सरकारले सिंहदरबारको प्रतिनिधित्त्व गर्‍यो । टोल–टोलमा सरकार आएसँगै विकासको खुड्किलो बिस्तारै थपियो । जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण मानिएको थियो तर अझै पनि आशा लाग्ने गरी जनताको जीवनले फड्को मार्न सकेको छैन । यही सिलसिलामा स्वामीकार्त्तिक गाउँपालिकाका प्रमुख चिरञ्जीवी शाहीसँग इकागजकर्मी अतिन आचार्यले गरेको संवाद :

संघीयता थेग्न सकिँदैन भन्ने आवाज पनि छँदै छ,  स्थानीय तहको संस्थापक नेतृत्व भएका हिसाबले के भन्नुहुन्छ ?
नयाँ–नयाँ कुरा देखापर्दा विरोध हुनु स्वाभाविक मानिन्छ । नयाँ संविधान जारी भएसँगै संघीयताले सार्थकता पाएको छ । संविधानले मुलुकमा तीन तहको सरकार स्थापना गर्ने अधिकार प्राप्त गरेको छ । लोकतान्त्रिक व्यवस्थाले तल्लो तहमा रहेका जनताको आवाज मुखरित भएका छन् । यसलाई सकारात्मक मान्न सकिन्छ । जनतासँग नजिक भएर काम गर्ने भनेको नै स्थानीय तह हो । विरोधको कुनै पनि औचित्य छैन । विरोधीहरूले आवाज उठाएका मात्र हुन् । कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ । राम्रो काम गर्न सबैलाई आकर्षित गर्नुपर्छ । संघीयता व्यवस्थापन भइसकेको छैन । नियम कानुन बनेको छैन र कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । स्थानीय तहले गर्दा बन्न नसकेको र बनिरहेका धेरै कुरा छन् ।


सुदूरपश्चिम प्रदेशमा अवस्थित कस्तो गाउँपालिका हो बताइदिनु न ?
बाजुरा जिल्‍ला भए पनि कालिकोट र मुगुको बीचमा छौँ । कर्णालीपारि बसेका छौँ । विगतका संरचनाहरूलाई लिएर विकास भएको र बनेको हो । ७५३ स्थानीय तहमध्ये सबैभन्दा बढी पिछडिएको गाउँपालिका हो । विकास र सरकारी सेवाको प्रवाहबाट एकदमै पछाडि परेको छ, धेरै कुराबाट वञ्चितसमेत भएको छ । गाउँपालिका बनिसकेपछि विकासको गति बढाएका छौँ । जनताका निम्ति हामीले काम गरिरहेका छौँ ।

तपाईंको कार्यकालमा गाउँबासीले खोजे जस्तो विकासको अनुभव गर्न पाए कि पाएनन् ?
शून्यको अवस्थामा रहेको ठाउँले बिस्तारै लय पक्डदै छ । पाँच वडामा बिस्तारै सडक सञ्जाल जोडिँदै छन् । प्रत्येक वडामा स्वास्थ्य चौकी बनाउन लागि परिरहेका छौँ । धेरै गरिबीको रेखामुनि रहेका र टाढा–टाढाका बस्तीमा पनि मानिस छन् । त्यस्ता स्थानमा स्वास्थ्य चौकी पुग्नुपर्छ । सबै ठाउँमा विद्यालय सञ्चालन हुनुपर्छ । साथसाथै शिक्षाको गुणस्तरमासमेत वृद्धि हुनुपर्छ । निजी तथा सरकारीसहित ३६ विद्यालय र दलित बस्तीसहित कुल सातवटा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

तपाईं दुर्गम गाउँपालिका भन्नुहुन्छ । स्थानीय तहसँग मुख्य सडक सञ्जाल जोडिएको छ कि छैन ?
सडक गाउँपालिकासम्म पुगेको छ । पाँचवटै वडामा सडक सञ्जाल पुर्‍याएका छौँ । हरेक बस्तीसम्म सडक पुर्‍याएको छ । केही बस्तीमा मात्र बाटो पुग्न बाँकी छ ।

तपाईंको स्थानीय तहमा रहेका मानिसलाई संघीय राजधानी काठमाडौँ आइपुग्न कति दिन लाग्छ ? 
सुर्खेत र धनगढी हुँदै गाडीबाट जानेहरूलाई कठमाडौँ पुग्न दुई दिन लाग्छ । यसले पनि जनाउँछ हाम्रो बसोबास दुर्गममा रहेछ । अझ भन्ने हो भने विकटमा नै छ ।

पश्चिमका धेरै गाउँघरमा बिजुलीबत्ती पुगेको छैन भन्छन् । तपाईं अध्यक्ष भएको स्थानीय तहको अवस्था कस्तो छ ?
२४ सय घरधुरीमा २ सय घरमा मात्र बिजुलीबत्ती पुग्न सकेको छैन । बिजुलीबत्ती नपुगे पनि अध्याँरोमा कोही पनि बस्नुपरेको छैन । २ सय घरपरिवार सोलार बालेर  बसिरहेका छन् । सबैलाई बिजुलीबत्ती पुर्‍याउने लक्ष्यसहित काम गरिरहेका छौँ ।

तपाईंको कार्यकालमा गाउँपालिकाबासीले खोजे जस्तो स्थानीय तहको अनुभव गर्न पाए कि पाएनन् ?
जनताको आवश्यकताअनुसार काम गरिरहेका छौँ । खानेपानी र सडकलाई मुख्य प्राथमिकतामा राखेका थियौँ । सिँचाइ, स्वास्थ्य, शिक्षामा र खानेपानीमा नागरिकको पहुँच पुग्नेगरी पहिलो प्राथमिकतामा राखी काम गरिरहेका छौँ । पाँच वर्षे कार्यकालमा जनतालाई कति दिन सकिन्छ भनेर लागेका छौँ । हाम्रो काम गराइबाट जनताले विकास नभएको जस्तो गरेर महसुस नगरेको जस्तो लाग्छ ।

पहिलो कार्यकाल सकिँदै गर्दा स्वामीकार्त्तिक​ खपर गाउँपालिकालाई वास्तविक ’गाउँपालिका’ जस्तो बनाउन के–के गर्नुभयो ?
विकासको नाममा शून्य रहेको ठाउँले अंक बढाएका छन् । यो क्षेत्रमा स्याउको धेरै सम्भावना रहेकाले अध्ययन र अनुसन्धान गर्न विभिन्न संघ–संस्थासँग सहकार्यको प्रक्रिया अगाडि बढाइएको छ । स्याउको उत्पादन बढाउन ठाउँ–ठाउँलाई पकेट क्षेत्र घोषणा गरिएको छ । ह्याचरी र प्रशोधन केन्द्रको सुरुवात भइसकेको छ । किसानलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, त्यसमा बढी ध्यान दिएर कामको गति बढाएका छौँ । कृषि उत्पादनलाई बढाएर किसानको जीवनलाई कसरी उकास्न सकिन्छ त्यसलाई बढी ध्यान दिएका छौ ।

स्याउको उत्पादन बढी हुन्छ भन्नुभयो । यसलाई बजारसम्म पुर्‍याउन लागि कस्तो व्यवस्था गरिरहनु भएको छ ?
पछिल्लो समय उत्पादन भएको कृषि सामग्रीले बजारीकरणमा पहुँच पाएपछि गाईबस्तुलाई खुवाउनुपरेको छैन । उत्पादन बढी हुने तर बजार नपाउने समस्याले धेरै किसान मर्कामा थिए । उत्पादन भएका स्याउलाई गाउँपालिकाले धनगढी, काठमाडौँ र पोखरासम्म पुर्‍याउने वातावरण बनाएका छौँ । गाउँपालिकाले किसानलाई व्यापारीसँग समन्वय गराएर के सहयोग गर्न सकिन्छ हामीले आफ्नो तर्फबाट सहयोग गरिरहेका हुन्छौँ । हाम्रो सहयोगले उत्पादन भएका सामग्री बजारसम्म पुर्‍याएर आय आम्दानीमा वृद्धि भएको छ । 

गाउँबासीलाई खानेपानीको व्यवस्था कसरी गर्नुभएको छ ?
कसैलाई पनि खानेपानीबाट वञ्चित गराएका छैनौँ । हाम्रो कार्यकालभरि कसैलाई पनि पानीको अभाव नहो्स भनी खानेपानीको व्यवस्था गर्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्‍यौँ । खानेपानी परियोजनाअन्तर्गत नसमेटिएका टोललाई प्रदेश सरकारसँग सहकार्य गरी खानेपानी उपलब्ध गराइरहेका छाँै । नेपाल सरकारको अवधारणाअन्तर्गत घर–घरमा एक खानेपानीको धाराअन्तर्गत काम गरिरहेका छौँ । 

गाउँपालिकामा जनसंख्या कति छन ?
यसपालि गरेको जनगणनाको तथ्यांकअनुसार करिब १५ हजार मानिस छन् ।

गरिबी र अशिक्षाको अवस्था कस्तो छ ?
मानव विकासको सूचांकमा ७५३ स्थानीय तहमध्ये सबैभन्दा पछाडि परेको स्थानीय तह हो । गरिबी प्रतिशत ६७.८ प्रतिशत छन् । अशिक्षितहरूको ग्राफ कहालीलाग्दो छ । चेतनाको स्तर फैलाउँदै छौँ । मुख्य कुरा शिक्षा र रोजगारी कसरी दिन सकिन्छ, त्यसलाई प्राथमिकतामा राखेका छौँ ।

चुनावी घोषणापत्रमा उल्लेख भएका तपाईंका पाँच प्रमुख प्राथमिकताका काम के–के थिए ?
पूर्वाधारको क्षेत्रमा काम गर्छु भनेर घोषणा गरेअनुसार त्यसलाई निरन्तरता दिएँ । खानेपानी र सडक प्रत्येक वडामा पुर्‍याउन सफल भएको छु । विद्यालयको पुनर्संरचना गरिएको छ । जस्ताको टहरा भएका विद्यालयलाई जस्तामुक्त बनाउने कोसिस गरिरहेका छौँ । सिँचाइ नपुगेको ठाउँमा सिँचाइ पुर्‍याएर उत्पादन बढाएका छौँ । शिक्षा र स्वास्थ्यमा केन्द्रित छौँ । सोहीअनुरूप लक्ष्य प्राप्त गरिसकेका छौँ । १० देखि १५ प्रतिशत काम अगाडि बढाउन नसके पनि सिंगो गाउँपालिकामा भएको विकास हेर्दा धेरै भएको छ । 

चाहेर पनि गर्न नसकेका काम केही छन् ?
भतेडीगार्ड सिँचाइ परियोजना बनाउन सकेको छैन । २४ किमिमा अवस्थित छ आफैँले पनि स्थलगत निरीक्षण गरेर सम्पन्न गर्न सकेनौँ । नदीमा फेरि सञ्चालन गर्दैछौँ । संघीय र स्थानीय सरकारको बजेटमा पक्की पुलहरू निर्माण हुँदै छ । पिछडिएका ठाउँलाई जोड्न पक्की पुल बनाउन लागेका छौ । मुख्यगरी पिछडिएका ठाउँलाई जोड्न पुल निर्माणलाई प्राथमिकतामा राखी काम गरिरहेका छौ ।

संघीय सरकार वा अन्य त्यस्तो केही शक्तिबाट काम गर्न अवरोध भयो कि भएन ?
संघीय सरकारले उपलब्ध गराउने अनुदानको रकम प्राप्त भइरहेको छ । समग्रमा भन्नुपर्दा गरिबी र पिछडिएका मानिसलाई मूल प्रवाहमा ल्याउनुपर्छ । तर, अपेक्षा गरेबमोजिम वित्तीय रकम समानुपातिक ढंगले वितरण भएन । संघीय सरकारले नगरेकाले कोभिडको समयमा स्थानीय तहको धेरै खर्च भएको छ ।  यही आर्थिक वर्षमा काम सम्पन्न गर्नुपर्ने भएकाले त्यहीअनुसार काम गरिरहेका छौँ ।

स्थानीय तह आफैँमा सरकार हो । तर, दुइटा संघ र प्रदेश सरकारमध्ये कुनले बढी सहयोग वा असहयोग गरे ?
हामीलाई सहयोग बढी वा घटीको कुरा भएन । संघीय सरकारले सबै निकायलाई पैसा दिनुपर्ने भएकाले केही कम हुन सक्छ । काम गर्दा मुख्य जिम्मेवारी स्थानीय तहको हुन्छ । योजना बनाएर हामीले काम गर्ने हो । केही प्रस्तावहरूमा पाउनुपर्ने सहयोग पाएका छौँ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । नेतृत्त्वका लागि यसपटक पनि तयारीमा हो ?
हामीले सुरुवात गरेका धेरै काम सम्पन्न भइसकेका छैनन् । विकास र योजना कसरी ल्याउनुपर्छ थाहा पायौँ । विकासको मूल प्रवाहमा जनतालाई कुन माध्यमबाट समाहित गर्नुपर्छ, त्यसबारे थाहा पाएका छौँ । गरेका काम पूरा भएका छैनन् । पार्टीले विश्वास गरेर टिकट दिएमा उठ्नेछु ।

आगामी निर्वाचनबाट आउने नयाँ नेतृत्त्वलाई केही सुझाव दिन चाहनुहन्छ ?
हामीले धेरै कामको थालनी गरिसकेका छौँ । कानुन बनाएर र कर्मचारीको व्यवस्थापन गरेका छौँ । शून्यबाट अहिलेको चलायमान अवस्थामा पु¥याएका छौँ । आगामी नेतृत्त्वले जनताको पक्षमा बुद्धि विवेक लगाएर काम गर्नुहुनेछ भनेर आशा गरेको छु । आफ्नो ठाउँको विकास, समृद्धि ल्याउनका लागि सहयोग गर्न सदा तत्पर रहनेछौँ । यस ठाउँको गरिबी हटाउनलाई मुख्य पहल होस् भन्ने लाग्छ ।

गाउँपालिका प्रमुख भएको हैसियतले आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म आफ्नो काम आफैँ मूल्यांकन गर्न सक्दिनँ । जुन हदसम्म काम गर्नुपर्थ्यो गरेँ । घोषणापत्रअनुसार काम गरेको छु । मेरो कामलाई लिएर आफू सन्तुष्ट रहेको छु । मैले गरेको कामलाई म १० मा ८ नम्बर दिन योग्य ठान्छु ।

 

संवाद शृंखला- १८ : संघीय सरकारले २० वर्षसम्म गर्न नसकेका काम पाँच वर्षमा भएका छन्

संवाद शृंखला- १७ : स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो छ

संवाद शृंखला- १६ : हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो

संवाद शृंखला- १५ : दश पूर्णाङ्कमा म आफूलाई पचास प्रतिशतभन्दा माथि अंक दिन्छु

संवाद शृंखला- १४ : हातखुट्टा बाँधेर अगाडि चौरासी व्यञ्जन राखिदिएजस्तो भयो

संवाद शृंखला- १३ : हाम्रो गाउँपालिकामा दुःखीहरू धेरै भएको हुँदा करमुक्त बनायौँ

संवाद शृंखला- १२ : धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु

संवाद शृंखला- ११ : पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु

संवाद शृंखला- १० : गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ

संवाद शृंखला- ९ : संघ र प्रदेशबाट सहयोगभन्दा असहयोग नै बढी पाएको छु

संवाद शृंखला- ८ : प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्‍यौँ

संवाद शृंखला- ७ : तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो

संवाद शृंखला- ६ : संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ

संवाद शृंखला- ५ : गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ

संवाद शृंखला- ४ : भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्

संवाद शृंखला- ३ : म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु

संवाद शृंखला- २ : संघीयता देशले थेग्‍न सक्दैन भन्‍ने कुरा गलत हो

संवाद शृंखला- १ : संघ र प्रदेशले सहयोग नै गरेनन्


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x