स्थानीय सरकारसँग संवाद

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद शृंखला–१७

स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो छ

अतिन आचार्य |
फागुन ५, २०७८ बिहीबार १५:५० बजे

‘सिन्धुलीगढी दरबार’को ऐतिहासिक विरासत बोकेको छ, कमलामाई नगरपालिकाले । पञ्चायत र प्रजातन्त्रले गढी दरबारलाई नछोएको र नदेखेको अवस्थामा लोकतन्त्रले देख्यो । गढी दरबार बन्यो । अंग्रेजको इतिहास र नेपाली वीरताको गाथा जनप्रतिनिधिहरूले फेरि सम्झने धरोहर बनाए । जनप्रतिनिधिहरूले कस्ता–कस्ता विकासको खोजी गरे त ? यही सिलसिलामा कमलामाई नगरप्रमुख खड्गबहादुर खत्रीसँग इकागजकर्मी अतिन आचार्यले गरेको संवाद:


तपाईंले नेतृत्व गरिरहँदा मुलुकले संघीयता थेग्न सक्दैन भन्ने आवाज पनि उठ्यो, स्थानीय तहको संस्थापक नेतृत्व भएका हिसाबले के भन्नुहुन्छ ? 


ठूलो प्रयासले मुलुकमा गणतन्त्र र संघीयता आएको छ । राजनीतिक दल तथा अनेक चरणका नागरिकका आन्दोलनबाटै यी समेटिएका हुन् । तर, केन्द्रीय सरकारका क्रियाकलापका कारणले संघीयताविपरीत आवाज उठ्न थालेको हो । संघले आफूले पाउने अधिकार मात्र प्रयोग गरेर स्थानीय तहलाई अधिकार विनियोजन गरेको छ । संघ र प्रदेशले विकासका नाममा बजेट बाँड्दा विवाद उत्पन्न हुनु अस्वाभाविक होइन । संघ–प्रदेशका सांसदहरू नीति–कानुनमा केन्द्रित हुुनुपर्छ र विकासका काम स्थानीय तह दिनुपर्छ । यसरी अघि बढ्दा संघीयताविरुद्ध आवाज निस्किँदैन । संघ र प्रदेशका जनप्रतिनिधिहरू सवारी–साधन र सुविधाप्रति लालायित बनेका छन् । यस्ता दृश्यले अलि अप्ठ्यारो देखिएको हो ।

जनप्रतिनिधि धेरै भएकाले तिनीहरूको खर्च धान्न नसक्ने भएकाले संघीयताको विरोध भएको पनि भन्छन् नि ?

जनप्रतिनिधिले सेवा–सुविधा लिएबापत जनताका नाममा कति काम गर्‍यौँ ? त्यसअनुसार काम भयो कि भएन त्यो महत्त्वपूर्ण हुन्छ । नागरिककै करबाट सञ्चालित मुलुकमा कति सेवा प्रवाह भयो ? त्यसले दीर्घकालीन फाइदा पुर्‍यायो कि पुर्‍याएन त्यसको परिणाम देखिनुपर्छ । कति खर्च भयो ? त्यसले जनताका लागि कस्तो योगदान गर्न सके भन्ने कुराले विशेष महत्त्व राख्छ । जनप्रतिनिधिको कामको मूल्यांकनअनुसार जनताले आवाज उठाइरहन्छन् ।

तपाईंको कार्यकालमा नगरबासीले खोजे जस्तो स्थानीय तहको अनुभव गर्न पाए कि पाएनन् ?
नगरपालिकामा १५ हजार ७४६ घरधुरी र २ हजार ४०७ जना विदेशमा छन् । ८ हजार ५ सय ३५ जना नगरपालिकाभन्दा बाहिर छन् । तिनीहरू सबैको मतले विजयी भएको हुँ । मैले नगरबासीको मतको अवमूल्यन कहिले गरेको छैन । पञ्चायत र प्रजातन्त्रलेसमेत सिन्धुलीगढीको विकासमा नजर परेको थिएन । ऐतिहासिक सिन्धुलीगढीको विकास गर्न कसैले प्रभावकारी कदम चालेनन् । नगरप्रमुख भएर आएपछि सिन्धुलीगढीको डिपीआर तयार गरी सम्पन्न गरेका छाैँ । ऐतिहासिक युद्ध संग्रहालय बनाएका छौँ । बिनाधितो र ब्याज ६ महिनापछि तिर्ने गरी ऋण उपलब्ध गराएका छौँ । एक हजार मजदुरको स्वास्थ्य बिमा गरिएको छ । तीन वर्षे कृषि, भेटनरी र सबओभरसियर पढ्दै छन् । बसपार्क बन्यो । २४ सय जनाको मोतीबिन्दु उपचार भएको छ ।

पहिलो कार्यकाल सकिँदै गर्दा कमलामाई नगरपालिकालाई वास्तविक ‘नगरपालिका’ जस्तो बनाउन के–के गर्नुभयो ?

नेपालमा जन्मेको मानिसले आजै अमेरिका, जापान र चीनको जस्तो सपना देख्नुहुँदैन । कल्पना गर्न पाइन्छ तर, नेपाल जस्तो स्रोतको कमी भएको मुलुकका मानिसलाई छिट्टै सम्भव हुँदैन । १५ हजार ७६४ घरधुरी भएको सबै ठाउँमा बाटो र पानीको धारा पुगेको छ भन्दिनँ र पुर्‍याउन सक्छु भनेर पनि भन्दिनँ । खरको छानामुक्त गरेर जस्ता दिएँ । वडाअध्यक्षले ल्याएको संख्यालाई दिए तर ल्याउँदा छुटाएर ल्याउनुभएको छ । सबै टाेल टाेलमा मिटर बक्स दिएर बिजुली बत्ती बल्ने व्यवस्था मिलाएको छु । बिनाधितो ऋण लिएर ७२ जना मानिसले उद्योग सञ्चालन गरेका छन् । नगरपालिकाले आवासीय विद्यालय सञ्चालन गरेको छ, अभिभावकविहीनलाई निःशुल्क पढाएको छ ।

ऐतिहासिक रूपमा प्रसिद्ध सिन्धुली जिल्लाको प्रसिद्धि बचाउन के गरिरहनु भएको छ ?

स्थानीय तहले नीति–नियम बनाउँछ त्यसैको आधारमा केही विकास भएका छन् । त्यसैअनुसार मानिसले काम गर्छन् भने त्यसमा हामीले केही गर्न सक्दैनौ । हालसम्म बनेका भौतिक संरचनालाई आगामी नेतृत्वले संरक्षण गरी अवश्य राम्रो गर्नेछन् । यहाँ धेरै ऐतिहासिकता छन् । जसलाई हामी सबैले चिन्नुपर्छ । राम्रो चिजलाई भत्काउनु हुँदैन । तर, थप सुरक्षा प्रदान गरी सुन्दर बनाएर अगाडि लानुपर्छ । नगरबासीलाई अहित हुने गरी काम भएको छैन । बनेका ऐनलाई परिमार्जन गरी काम गर्नुपर्छ ।

नगरबासीको अपेक्षानुसार कति काम गर्नुभयो त ?
म आउनुभन्दा कमलामाई नगरपालिकामा एकदेखि डेढ टन तरकारी उत्पादन हुन्थे । आठ टनको खपत र छ टन उत्पादन भइरहेको छ । दूधको उत्पादन बढेर बाहिरी बजारमा समेत जान्छ । खसीबाख्रा पालन बढेर मासुमा आत्मनिर्भर भएका छन् । विकास एकै ठाउँमा मात्र भएका छैनन् । एक सय बढी विद्यालय भएका ठाउँमा ८४ मा झारेका छाैँ । सबै विद्यालय तथा स्वास्थ्य चौकीमा इन्टरनेटको व्यवस्था हुनेछ । विद्यालयलाई आवश्यक ल्यापटप निःशुल्क प्रदान गरिन्छ । कोभिडको समयमा शिक्षकलाई तालिमको व्यवस्था भएको थियो । कोभिडमा एफएम रेडियोबाट पढाइयो ।

नगरपालिकाको भौगोलिक संरचना मिलेको छैन, नगरबासीलाई खानेपानीको व्यवस्था कसरी गर्नुभएको छ ?
राज्यको नीति ‘एक घर एक धारा’ मेरो नगरपालिकामा लागू हुँदैन । म नगर प्रमुख हुनुभन्दा एक घरको मानिसले पानी लिन एक घण्टा हिँड्नुपथ्र्याे तर अब भने १५ मिनेटमा झरेको छ । १५ मिनेटबाट ५ मिनेटमा झार्नुपर्ने छ । वडाध्यक्षलाई खानेपानीका बजेट ल्याउँदा १५ मिनेटबाट ५ मिनेटमा झार्ने गरी व्यवस्था गर्न आग्रह गरेको छु ।

चुनावी घोषणापत्रमा उल्लेख भएका तपाईंका पाँच प्रमुख प्राथमिकता के–के थिए ?

मेरो चुनावी घोषणापत्र र मैले गरेका कामलाई दाँज्दै कोही पनि आएनन् । मैले सबैलाई घोषणापत्र ल्याएर मसँग संवाद गर्न आउन भनेको छु । सिन्धुली गढी बनाउनु थियो बनाए । सिटी हल बन्दै छ । सिन्धुली बजारलाई अन्यको तुलनामा राम्रो बनाउँछु भनेको थिए । राम्रो र सफासुग्घर भएको छ । ५८ वटा सिसी क्यामेरा जडान भएका छन् । ठाउँ–ठाउँमा भएका पुल निर्माण गर्छु भनेको थिएँ । केही बने केही बन्दैछन् । कृषिमा आत्मनिर्भर बनाउँछु भनेको थिएँ त्यो पनि बनिसकेको छ । प्रत्येक वडामा एउटा खेल–मैदान बनाउने योजना थियो बनाउन लगाएको छु । निर्वाचनताका घोषणापत्रमा जित्छु या जित्दिनँ भन्ने थाहा थिएन, तर पनि केही महत्वाकांक्षीहरू वाचाहरू समावेश थिए ।

निर्वाचनमा विजय हासिल गर्न त्यस्तो वाचा के–के थिए ?

एक वडा एक प्रहरी चौकी भनेको थिएँ, त्यो पुग्दैन । सरकारले एक घर एक धारा भनेको थियो । घोषणापत्रमा उल्लेख थियो तत्काल त्यो पनि सम्भव छैन ।

त्यसो भए मेयर जित्न झुट बोलेको जस्तो महसुस हुन्छ कि हुन्न ?

राजनीति भनेको मौसमी बाजा रहेछ । त्यहीकारण राजनीतिमा दुई र दुई जोड्दा चार हुँदैन । मैले गरेको घोषणापत्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । मेरो कामप्रति जनता खुसी छन् । म यसअघि पनि जनप्रतिनिधि भएर काम गरिसकेको छु ।

आफ्नै कार्यकालमा नगर प्रमुख भएर गर्न नसकेका काम के–के हुन् ?

कोभिडका कारण वधशाला निर्माण गर्न सकिएन । निर्माणका लागि ३० लाख बजेट छुट्याइसकेको थिए । हामीले गर्न नसकेको काम भनेको त्यही काम हो । कतिपय काम घोषणापत्रमा उल्लेख नभएका गरिसकेको छु । जनताप्रति उत्तरदायी भएर घोषणापत्रमा नभएका काम पनि गरे ।

संघीय सरकार वा अन्य त्यस्तो केही शक्तिबाट काम गर्न अवरोध भयो कि भएन ?

अधिकार बाँडफाँटका हिसाबमा संविधानले परिकल्पना गरेबमोजिम कन्जुस्याइँ गरेको जस्तो लाग्छ । स्थानीय सरकारले नगरसभाबाट पास गरेको भएका योजना मात्र काम गर्छन् । तर संघीय जनप्रतिनिधिले मनखुसीले बजेट छर्दा अलिक नमिलेजस्तो भएको थियो ।

काम गर्दै–गर्दाको समयमा संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता आइपरे ?

कानुनी रूपमा केही अप्ठयारा छन् । जनप्रतिनिधि भएकाले जनताको काम गर्न खोज्छौं, तर लोकसेवा पास गरेर आएका कर्मचारीले अलिकति अवरोध गरेको जस्तो महसुस भएको छ । नीतिगत कुरामा समस्या छ, तर काम गर्ने कुरामा समस्या छैन ।

स्थानीय तह आफैँमा सरकार हो । तर, दुईवटा संघ र प्रदेश सरकारमध्ये कुनले बढी सहयोग वा असहयोग गरे ?

सबैभन्दा तल हामी छौँ । तल भए तापनि हामी बलियो छौँ । किनभने जगका रूपमा स्थानीय तह भएकाले बलियो बनाउन हामीले मज्जाले काम गरेका छौँ । बलियो भएको सरकारले माथिका सरकारले केही पनि गर्न सक्दैनन् । बाधा हुने गरी कसैले त्यस्तो अवस्था सिर्जना गरेनन् । सुरुवातीको अभ्यास हो । बुझ्दै र गर्दै जाँदै छौँ, गरेपछि केही काम अवश्य सफल होला नै विश्वास लिएका छौँ ।

पदावधि सकिन केही समय मात्र छ, आगामी नेतृत्वका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?

काम गर्ने जनप्रतिनिधि आएमा अवसरका ढोकाहरू खुला भएका छन् । खुला ढोकाबाट नछिरेर अन्य ढोकाको खोजी गर्नेलाई भने धेरै कठिन वातावरण बन्न सक्छ । म जनताको अदालतमा जाँदै छु । पुनः उम्मेदवार भइनँ भने पनि पार्टीका लागि अन्य उम्मेदवारका लागि भोट माग्न जान्छु, उहाँहरूको प्रश्न र गुनासो सुन्नेछु ।

नगर प्रमुख भएको हैसियतले आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नगरबासीको अभिभावक हुन सके वा सकिनँ, थाहा छैन । तर नगरपिता हुने कोसिस गरिरहेको छु । म मेरो कामलाई मूल्यांकन गर्ने को हो र ? मतदाताको आँगन टेक्न मन छ । मतदाताको आँगन टेक्दा उनीहरूले व्यवहार राम्रो पाए भने पासमार्कको घोषणा गर्नेछु । हामीले शून्यमा बसेर गरेको कामलाई हेरिरहेको र नगरबासीलाई मूल्यांकन गर्ने अधिकार दिए है ।

संवाद शृंखला- १६ : हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो

संवाद शृंखला- १५ : दश पूर्णाङ्कमा म आफूलाई पचास प्रतिशतभन्दा माथि अंक दिन्छु

संवाद शृंखला- १४ : हातखुट्टा बाँधेर अगाडि चौरासी व्यञ्जन राखिदिएजस्तो भयो

संवाद शृंखला- १३ : हाम्रो गाउँपालिकामा दुःखीहरू धेरै भएको हुँदा करमुक्त बनायौँ

संवाद शृंखला- १२ : धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु

संवाद शृंखला- ११ : पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु

संवाद शृंखला- १० : गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ

संवाद शृंखला- ९ : संघ र प्रदेशबाट सहयोगभन्दा असहयोग नै बढी पाएको छु

संवाद शृंखला- ८ : प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्‍यौँ

संवाद शृंखला- ७ : तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो

संवाद शृंखला- ६ : संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ

संवाद शृंखला- ५ : गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ

संवाद शृंखला- ४ : भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्

संवाद शृंखला- ३ : म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु

संवाद शृंखला- २ : संघीयता देशले थेग्‍न सक्दैन भन्‍ने कुरा गलत हो

संवाद शृंखला- १ : संघ र प्रदेशले सहयोग नै गरेनन्

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x