डिफेन्स

पृतनापति समन्वयात्मक बैठक : उपप्रधानमन्त्री खड्काको सम्बोधन

इकागज |
भदौ २१, २०८० बिहीबार १९:५५ बजे

काठमाडौँ - उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन् । 

सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे । 


“राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्द्धन गर्ने गहन जिम्मेवारीलाई सेनाले अन्य निकायसँगको सहकार्यमा प्रभावकारी र प्रशंसनीय ढङ्गले गर्दै आइरहेको छ”, रक्षामन्त्री खड्काले भने । 

सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याइरहेको योगदानबाट प्राप्त उपलब्धि र ख्यातिको समेत उनले प्रशंसा गरे । 

रक्षामन्त्री खड्काले देशका रणनीतिक तथा संवेदनशील क्षेत्रको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रूपमा रहेको ‘साइबर स्पेश’ सुरक्षार्थ भएका पहल तथा  सुझावका लागि धन्यवाद ज्ञापन गरे । उनले निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न सडक करिडोरको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकता र प्रतिष्ठासँग जोडिएको विषय भएकाले विधिसम्मत एवं गुणस्तरीय ढङ्गले निर्धारित समयमा सम्पन्न गर्न सेना सक्षम हुने विश्वास व्यक्त गरे । 

उपप्रधानमन्त्री खड्काले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुनसक्ने परिस्थिति, सुरक्षा खतरा तथा चुनौती, पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास एवं  जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयको सम्बोधनलगायत क्षेत्रमा चुनौती देखिएको बताए । 

उनले विभिन्न विषयलाई राष्ट्रिय मुद्दाको रूपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्बल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील तत्वहरूलाई सेनाले राष्ट्रिय सुरक्षाको प्रमुख र प्राथमिक चुनौतीको रूपमा लिई काम गर्ने विश्वास व्यक्त गरे । 

“सदियौँदेखि हामीबीच कायम रहिरहेको धार्मिक एवं सामाजिक सहिष्णुता खल्बल्याउन उद्यत अवाञ्छित तत्वहरूको सुक्ष्म अध्ययन गर्ने आवश्यकताबारे पनि तपाईँहरूको ध्यानाकर्षण गराउन चाहान्छु”, उपप्रधानमन्त्री खड्काले भने । 

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सदैव सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए । उनले भने, “जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारीलगायत आर्थिक, सामाजिक, कूटनीतिक, वातावरणीय, खाद्य, ऊर्जा, साइबर सुरक्षा एवं अन्य मानव सिर्जित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी सेना सदैव तयारी अवस्थामा छ ।”

समग्र देशको परिस्थिति र परिवेशको विश्लेषण गर्दै अन्तर सुरक्षा निकायबीच सूचना आदानप्रदान गरी भावी सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक रहेको प्रधानसेनापति शर्माले बताए । 

कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखको सहभागिता थियो । बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवं सुझाव प्रस्तुत गरेका थिए । रासस


Author

थप समाचार
x