डिफेन्स

सेनाको चार हेलिकोप्टर र दुई एयर क्राफ्ट ग्राउण्डेड

अतिन आचार्य |
पुस २०, २०८० शुक्रबार १५:४६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली सेनाले समयमा मर्मत गर्न नसक्दा चार वटा हेलिकोप्टर ग्राउण्डेड भएका छन् । हेलिकोप्टरका विभिन्न पाटपुर्जा समयमा नपाइने भएकाले मर्मत हुन नसकेको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता मनोज आचार्यले नेपाली सेनाको चार वटा हेलिकोप्टर मर्मत हुन नसक्दा ग्राउण्डेड भएको जानकारी दिए । उनका अनुसार सेनासँग कुल १२ वटा हेलिकोप्टर छ । चार वटा एयर क्राफ्ट छन् । एयर क्राफ्ट दुई वटा चालु अवस्थमा छन् भने अन्य बिग्रेका कारण मर्मतमा राखिएको छ ।


नेपाली सेनाले ग्राउण्डेड एयर क्राफ्ट र हेलिकोप्टरको सामग्री नपाएकाले मर्मत गर्न नसकेको उनले बताए । मन्त्रालयले विभिन्न समयमा बनाउनका लागि निर्देशन दिएको छ ।

‘पुरानो- पुरानो हेलिकोप्टर नेपाली सेनासँग छ । पुरानो भएकाले हतपत सामग्री नपाउँदा समयमै बन्न नसकेको हो,’ प्रवक्ता आचार्यले भने । सुर्खेत, काठमाडौँ, विराटनगर र इटहरीमा हेलिकोप्टर चालू अवस्थामा रहेको छ ।

त्यसैगरी, नेपाली सेनाको एमआई १७ भी ५ हेलिकोप्टर मर्मत गर्न भारत लगिएको सेनाका नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । उनका अनुसार रसियन मोडलको हेलिकोप्टर रहेकाले मर्मतका लागि भारत पठाइएको हो ।

जिटुजीमार्फत हेलिकोप्टर मर्मत गर्न लगिएको हो । उक्त हेलिकोप्टर मर्मत गर्ने क्रममा रहेको छ । ‘एक-डेढ महिनाअघिमात्र निर्माणका लागि भारत लगिएको हो,’ उनले भने ।

भारत लगिएको हेलिकोप्टर मर्मत प्रक्रियामा रहेको भण्डारीले बताए । केही हेलिकोप्टरको सामान नपाएकाले ग्राउण्डेड रहेको उनले जानकारी दिए । एक पटक उडान भइसकेपछि दोस्रो उडान भर्न मर्मत गर्ने गरेको उनको भनाइ छ । अहिले सेनाले उद्धार गर्नुपर्ने अवस्था आएमा तयारी अवस्थामा हेलिकोप्टर रहेको उनले जानकारी दिए । 

तत्काल तथा आपतकालीन अवस्थामा उद्धार गर्न इटहरी, विराटनगर, काठमाडौँ र सुर्खेतमा हवाई साधनहरू  तयारी अवस्थामा  राखिएको प्रवक्ता भण्डारीले बताए ।

‘सेनासँग रहेका  हवाई साधनहरू  ल्याण्डिङ जोन , हेलिप्याड तथा एयर फिल्डको उपलब्धता अनुसार उद्धार कार्यमा प्रयोग गर्न सक्ने गरी बनाइएको,’ उनले थपे,’ हाल उपलब्ध मध्ये करिब ७० प्रतिशत जहाजहरू चालू अवस्थामा छन् र तिनलाई आवश्यकता अनुसार उद्धार कार्यमा परिचालन गर्न सकिन्छ ।‘

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x