डिफेन्स

दक्षिण सुडानमा खटिएको नेपाली सेनाले रोक्यो सम्भावित झडप

इकागज |
मंसिर १५, २०७७ सोमबार १७:४९ बजे

काठमाडौँ : शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाले क्‍वीबेट क्षेत्रमा हुन लागेको सशस्त्र समूहहरूबीचको सम्भावित झडपलाई रोकेको छ । क्‍वीबेटमा दुई समूहबीच झडप हुन लागेको खबर पाएसँगै केही मिनेटमा नै उक्त क्षेत्रमा नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिस)ले त्यहाँको स्थानिय बासिन्दाहरूलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका हुन् । अहिले तैनाथ रहेको स्थान रुम्बेकबाट करिव ७० किमी उत्तर पश्‍चीममा अवस्थित गाईवस्तु शिविरमा एक युवकको हत्या भएको विषयलाई लिएर भड्किन लागेको हिंसालाई सेनाले नियन्त्रणमा लिएको हो ।


घटनाको एक दिनपछि उक्त समुदायका करीव ६० जना सदस्यहरूले हतियारहरू जम्मा गरेर उनको मृत्युको बदला लिन शहरतर्फ लागेको अनमिसले जनाएको छ । क्‍वीबेट इलका नजिकै रहेको गाईवस्तु शिविरमा चोरी गर्न आएको भनिएको कंगोर जातिको एक ब्यक्तिको झडपमा मृत्यु भएको घटनाले कन्गोर तथा अ‍ैएल जातिका मानिसहरुबीच हिंसाको रूप लिएको थियो ।

जातिय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरूले पुर्‍याएको योगदानलाई राष्ट्रसंघबाट उच्च प्रशंसा भएको पनि जनाइएको छ । उक्त शहरमा प्रतिकारका लागि अर्को एक सय जनाको समूह हतियारसहित बसेको सूचना नेपाली सेनाको टोलीले प्राप्त गरेको थियो ।

नेपाली टोलीले तुरुन्त सैनिकहरूको एक पल्टन पठाउँदै उक्त समूहहरूलाई रोकेको थियो । शान्ति सेनाले स्थानीय प्रहरीको सहयोगमा काम गरेको थियो सो समूहले धम्कीको जवाफ पनि दिएका थिए । ‘हाम्रो काम भनेको सुरक्षा अवस्थाको आँकलन गर्नु, सशस्त्र समूहहरुलाई रोक्नको लागि इलाकामा पेट्रोलिङ गर्नु, सुरक्षा उपलब्ध गराउनु र आवश्यक परेमा सर्वसाधारणलाई संरक्षण गर्न हस्तक्षेप गर्नु थियो ।’ सेनाले भनेको छ ।  


Author

थप समाचार
x