डिफेन्स

भारतीय सेनाका अध्ययन टुरको छनौटमा जंगी अड्डा

इकागज |
कात्तिक २, २०७८ मंगलबार १६:३४ बजे

काठमाडौँ - नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र भारतका नेसनल डिफेन्स कोर्स – २०२१ का सेनाका अधिकृतहरुले मंगलबार जंगी अड्‍डाको भ्रमण गर्दै नेपाली सेनाको बारेमा जानकारी लिएका छन् । जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उक्त भ्रमणदलका प्रमुख रिअर एडमिरल धिरेन भिगलाई शिष्टाचार भेट दिएका थिए । 


उक्त टोलीलाई नेपाली सेनाको गतिविधिबारे जानकारी दिने र अन्तरक्रिया गर्ने कार्य भएको जंगी अड्डाले जनाएको छ । कार्यक्रमको शुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाबीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । 

उनीहरु गत असोज ३१ गते नेपाल आएका थिए । अध्ययन टुरमा आएका उक्त टोलीमा अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंका शिक्षार्थी पनि सामेल थिए । भारतमा डिफेन्स कोर्ष गर्नेहरु यसरी अध्ययन टुरमा विभिन्न मुलुक जाने गर्छन् । त्यसमा नेपाल पनि उनीहरुको छनौटमा परेको हो । अन्य मुलुकबाट पनि यसरी नेपाल आउने गरेका छन् । 

उक्त टोलीले रक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उनीहरुको सोधका लागि उक्त अन्तरक्रिया उपयोगी हुने बताइएको छ । आजै एक फरक कार्यक्रममा भ्रमणदलमा सहभागी फ्याकल्टि मेम्बरहरु तथा तालिमरत शिक्षार्थीहरुका श्रीमतीहरुलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको थियो ।


Author

थप समाचार
x