डिफेन्स

प्रधानसेनापति शर्मा र राजदूत होउ वार्ता

प्रधानसेनापतिको भारत भ्रमणको अघिल्लो दिन नेपाली सेनालाई चिनियाँ सहयोग

इकागज |
कात्तिक २२, २०७८ सोमबार १३:५३ बजे

काठमाडौँ- छिमेकी चीनले नेपाली सेनालाई सहयोग स्वरुप स्वास्थ्य सामग्री र कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । सोमबार एक समारोहबीच तीन लाख डोज कोभिड-१९ विरुद्धको खोप र स्वास्‍थ्य सामग्री ज‌ंगी अड्डामा हस्तान्तरण भएको हो ।

चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त खोप तथा सामग्री एक समारोहका बीच बुझाएकी हुन् । चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज कोभिड-१९ विरुद्धको खोप जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच बुझाएका हुन् ।


प्रधानसेनापति शर्मा र राजदूत होउ वार्ता 

प्रधानसेनापति भारतको औपचारिक भ्रमणमा जानु अघिल्लो दिन चिनियाँ राजदूतले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई पठाएको उपहार हस्तान्तरण गर्दै आपसी हितका विषयमा समेत छलफल गरेकी हुन् । नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिएका थिए । 

यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारीहरू समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाईंमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्‍न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुत हुने विश्वास लिइएको छ ।


Author

थप समाचार
x