डिफेन्स

सेनाले चैतमा चौथो भूतपूर्व सैनिक सम्मेलन गर्दै

इकागज |
माघ २०, २०७८ बिहीबार २१:१ बजे

फाइल फोटो

काठमाडौँ : नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ । 

नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमशः दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सूर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगञ्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ । पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफनो कार्यकालमा प्रदेशगत रूपमा कम्तिमा एक भूपू सैनिक सम्मेलन गर्ने अभ्यास हुँदै आएको छ ।


सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास र निवृत्तिभरण बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्ति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौँ उपत्यकाको हकमा महाराजगञ्जस्थित कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्नेछन् । बोर्डले सम्मेलनमा सहभागीलाई अशक्त आश्रितलाई ह्वील चियर, बैसाखी तथा अरुलाई दैनिक तथा भ्रमण भत्तालगायतका सुविधा प्रदान गर्नेछ ।

सम्मेलनका क्रममा लघुवित्त कार्यक्रम सहुलियत कर्जाका ऋणीलाई चेक तथा उत्कृष्ट उद्यमीलाई नगद पुरस्कार प्रदान गरिने छ । बोर्डले भूपूसैनिक र उनका परिवारलाई लक्षित गरी सम्मेलनका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । रासस


Author

थप समाचार
x