सेयर

राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले सेयर बजार अप्राकृतिक रूपले बढ्यो : अर्थमन्त्री महत

इकागज |
मंसिर ७, २०८० बिहीबार १७:३३ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले सेयर बजार अप्राकृतिक रूपले बढेको टिप्पणी गरेका छन् ।​बिहीबार काठमाडौँमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले यस्तो टिप्पणी गरेका हुन् ।

अर्थमन्त्री​ महत​ले कोभिडको समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंक मौद्रिक नीति सहज बनाउँदा नेपालको सेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी गरे । उनले नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको उल्लेख गरे ।


उनले पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने मौद्रिकमा कडाइ गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको दाबी गरे । उनले मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रूपले वृद्धि भएको बताए । उनले गत सालको भन्दा तेब्बर हुने आसले बैंकबाट ऋण लिएर जग्गा र टावरहरूमा पैसा लगाएकाले अहिले अर्थतन्त्रमा समस्या देखिएको बताए ।

अर्थमन्त्री महतले अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रमा तत्कालका लागि लगानी नगर्न आग्रह गरे । उनले सरकारले पनि प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको बताए । अर्थमन्त्री महतले अहिलेको अर्थतन्त्रको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने जिकिर गरे । उनले अर्थतन्त्रमा आजको आजै समस्या नआएको भन्दै अब सकारात्मकतर्फ अगाडि बढेको दाबी गरे ।


Author

थप समाचार
x