सेयर

सेयर बजारमा तेस्रो सर्किट लागेसँगै कारोबार बन्द

इकागज |
मंसिर २४, २०८० आइतबार १४:२४ बजे

फाइल फोटो

काठमाडौँ - गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत सेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । 

मौद्रिक नीतिको समीक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सर्किट लागिरहेको छ । आइतबारको प्रि ओपन सेयनमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो । ४ प्रतिशतको सर्किट लागेर २० मिनेट कारोबार रोकिएर खुलेको २ मिनेटमा नेप्से ५ प्रतिशतले बढ्यो ।


कारोबार खुलेको ७ मिनेटमा नेप्से ९२.७३ अंकले बढ्यो । ४० मिनेट रोकिएको कारबोरमा खुलेको पुनः २ मिनेटमा ६ प्रतिशतले बढेको नेप्से कारोबार आजको लागि बन्द भएको छ । बजारमा सर्किट लागेर करिब डेढ घण्टामा बजार बन्द हुँदा साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १११.२० अंकले बढेर १ हजार ९ सय ६३.९८ को बिन्दुमा पुगेर रोकिएको छ । 

आइतबारको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब ३० कम्पनीको सेयर मूल्य सर्किट लेबलमा बढेको छ । तर यता २२७ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जीले ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ । त्यसपछि  दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ । शुक्रवार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ब्याजदर घट्ने नीति लिँदै राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ । त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति लिँदा सेयर कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट १२५ मा झारेको छ । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

 


Author

थप समाचार
x