समाज

विश्व खाद्य सचेतता दिवस

खाद्य सामाग्रीको सुरक्षाका लागि १० टिप्स

इकागज |
जेठ २४, २०७९ मंगलबार ११:१२ बजे

काठमाडौँ- आज विश्व खाद्य सचेतता दिवस । सोही अवसरमा खाद्य तथा गुण नियन्त्रण विभागले  ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित सप्ताहव्यापी रूपमा विश्व खाद्य सचेतता दिवस मनाइरहेको छ । खाद्य पदार्थमा हुने मिसावट कम तथा स्वच्छता र गुणस्तर कायम राख्‍न विभिन्‍न प्रवर्द्धनात्मक कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रम गरिरहेको विभागले खाद्य सुरक्षाको लागि विभिन्‍न टिप्स दिएको छ । 

कच्चा पदार्थको सम्बन्धमा 
- बासी सडेगलेको, ढुसी परेको, गन्हाएको कच्चा पदार्थको प्रयोग गर्नु हुँदैन ।
- कच्चा पदार्थको प्रयोग गर्दा मितिलगायतको लेवल विवरण नभएका, थाहा नभएको कच्चा पदार्थ र खान नमिल्ने रसायन भएकाका पदार्थको प्रयोग गर्नु हुँदैन । 
- दूध र दूधबाट बनेका परिकार, माछा-मासु, अण्डा जस्ता कच्चा पदार्थ प्रयोग गरिने भएमा छुट्टै राख्ने व्यवस्था गर्नु पर्दछ ।
- काँचै खाने फलफूल तथा तरकारीको सलादलाई विशेष सावधानीका साथ सफा पानीले धोई सफा भाँडामा राख्ने व्यवस्था गर्नु पर्दछ । 


खाद्य पदार्थ तयारी, एवं कारोबार गर्ने सम्बन्धमा
- दुर्गन्धित फोहोर भएको धुलो, धुवाँ उड्ने ठाउँमा नबनाउने र सबै खाद्य पदार्थहरू धुँवा, धुलो, झिंगा र अन्य किराबाट जोगाउने गरी छोप्ने व्यवस्था गर्नु पर्दछ ।

खाद्य पदार्थ तयार गर्दा प्रयोग गरिने तेलको सम्बन्धमा
- खाद्य पदार्थ तार्न पकाउन प्रयोग गर्ने तेल गुणस्तर युक्त हुनु पर्दछ । 
- सकेसम्म एक पटक प्रयोग भएको तेललाई पुनः प्रयोग गर्नु हुँदैन ।
- तेल घ्यू पटक पटक प्रयोग गरिरहँदा ट्रान्स फ्याटको मात्रा बढ्छ जुन स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ ।
- तेलबाट धेरै धुँवा आउने र र कालो हुने गरी प्रयोग गर्नु हुँदैन । 
- लेवल विवरण भएका उपभोग्य अवधि भएका तेल घ्यू मात्र प्रयोग गर्नु पर्दछ । 

पानीको प्रयोग सम्बन्धमा
- साग सब्जी सफा गर्न, खाना बनाउन सफा पानीको प्रयोग गर्नु पर्दछ ।
- सब्जी एवं फलफुल काट्नु अघि सफा पानीले पखाल्नु पर्दछ । 
- स्वच्छ सफा पिउन योग्य पानीको पर्याप्त व्यवस्था र स्वच्छ पानी राख्नको लागि सफा भाँडाको प्रयोग गर्नु पर्दछ । 
- भाँडा वर्तनको सरसफाईको लागि पनि सफा पानीको प्रयोग गर्नु पर्दछ ।

खाद्य पदार्थ भण्डारण गर्ने सम्बन्धमा 
- काँचो र पकाएको खाद्य पदार्थलाई छुट्टाछुट्टै भण्डारण गर्नु पर्दछ । 
- पकाएको खानालाई लामो समयसम्म सामान्य तापक्रममा राखेर ग्राहकलाई खुवाउनु हुँदैन ।
- सामान्य तापक्रममा खानालाई दुई घण्टा भन्दा बढि राख्‍न हुँदैन । 
- पकाएको तयारी खाना तथा चाँडै बिग्रने खानालाई ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा रेफ्रिजेरेटरमा राख्ने वा ६० डिग्री सेल्सियसभन्दा माथि तातोमा राख्‍ने गर्नु पर्दछ । 

खाद्य पदार्थको कारोबार गर्ने व्यक्तिको सरसफाई सम्बन्धमा 
- खानेकुरा तयारी परिचालन र वितरण गर्ने व्यक्तिले पटक पटक साबुन तथा सफा पानीले हात धुनु पर्दछ ।
- साथै जयाभावी थुक्ने, नाक कोट्याउने, कन्याउने, चुरोट, सुर्ती खाने, नङ टोक्ने जस्ता अस्वच्छ अभ्यास गर्नु हुँदैन ।
- खाना तयार गर्ने व्यक्ति स्वास्थ हुनु पर्दछ, बिरामी भएको बखत, घाउ खटिरा भएको अवस्थामा खानेकुरा वा भाँडा वर्तनको सम्पर्कमा आउनु हुँदैन । 
- नियमित रुपमा नुहाउने, नङ काट्नुका साथै व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्दछ । 
- खाना पकाउँदा र भाँडा वर्तन सफा गर्दा सफा एप्रोनको प्रयोग गर्नु पर्दछ । 
- खाना पकाउँदा सफा पन्जा, मास्क, कपाल छोप्ने टोपी आदीको प्रयोग गर्नु पर्दछ । 
- खानेकुरा दिँदा नाङ्गो हातले छोएर दिनु हुँदैन । 

फोहोर व्यवस्थापन तथा सरसफाई सम्बन्धमा 
- खाना बनाउने तथा पस्कने ठाउँमा खेर गएको खानेकुरा तथा अन्य फोहोर थुप्रिन नपाउने गरी नियमित रुपमा उपयुक्त स्थानमा विसर्जन गर्नु पर्दछ । 
- औजार उपकरणहरू सफा गर्ने एवम् उचित तरिकाले राख्ने व्यवस्था गर्नु पर्दछ ।
- ढक्कन लाग्ने फोहोर फाल्ने भाँडा प्रयोग गर्नु पर्दछ । 
- आफुले सञ्चालन गर्ने पसल र त्यहाँ वरिपरिको सरसफाई नियमित रुपमा गर्नु पर्दछ । 

खाने कुरा प्याक गर्ने वा पस्कने सामाग्री सम्बन्धमा 
- खानेकुराहरूलाई सफा प्लेटमा वा पातको भाँडा वा आल्मुनियम फोइलको प्लेटमा पस्कनु पर्दछ ।
- छापिएका पत्रिका अथवा प्रिन्ट भएका कागजहरूको प्रयोग खाना राख्न वा खुवाउन गर्नु हुँदैन जुन स्वास्थको लागी हानिकारक हुन्छ । 
- प्लाष्टिकको कपमा तातो खानेकुरा चिया कफी जस्ता पेय पदार्थ दिनु हुँदैन ।

खाद्य पदार्थमा रङ्गको प्रयोग सम्बन्धमा
- अप्राकृतिक वाह्य रङ्गमा कुनै किसिमको पौष्टिक तत्व हुँदैन तसर्थ त्यस्ता वाह्य कृतिम रङहरू प्रयोग नगर्नु नै राम्रो हुन्छ । 
- तारेर पकाएर खाइने खानेकुरामा कृतिम बाह्य रङ्गको प्रयोग गर्नु हुँदैन र यदि यसको प्रयोग गर्नै परे स्वीकृती प्राप्त रङ्ग सो को प्रयोगको उचित मात्रा र विधिबारे जानकारी लिएर मात्र गर्नु पर्दछ । 
- बेसार जस्ता प्राकृतिक रङ्गहरूलाई खानेकुरामा प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ र कृतिम वाह्य रङ्ग भने मानव स्वास्थ्यको लागि हानिकारक हुन सक्ने भएकोले बेसार जस्ता प्राकृतिक रङ्गको प्रयोग गर्नु पर्दछ ।

समग्रमा ख्याल राख्नु पर्ने कुराहरू
सडक छेउछाउमा खानेकुरा तयार गरी बिक्री गर्ने व्यवसायीहरूले यी माथि लेखिएका कुराहरूको परीपालना गरेर मात्र व्यवसाय सञ्‍चालन गर्नु पर्दछ । यसरी सडक छेउछाउमा खानेकुरा तयार गर्दा अनुगमनका क्रममा कुनै खराबी, कैफियत पाइएमा वा सो अनुसार कुनै उपभोक्ताबाट उजुरी गुनासो आएमा खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ बमोजिम कानूनी कारबाही हुनेछ ।


Author

थप समाचार
x