समाज

मापदण्ड विपरीत पेट्रोल पम्प

नमस्कार शाह |
कात्तिक २४, २०७७ सोमबार ८:१८ बजे

नेपालगञ्‍ज : सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिने पेट्रोल पम्प मुख्य राजमार्ग तथा बजारदेखि टाढा राख्नुपर्ने प्रावधान रहे पनि बाँकेमा खोलिएका अधिकांश पम्पहरु बजार भित्रै छन् । जिल्लामा रहेका अधिकांश पेट्रोल पम्प मुख्य राजमार्गको दायाँबायाँ तथा घना बस्तीको बीचमा सञ्चालन हुँदा कुनै पनि बेला ठुलो जोखिम निम्तिन सक्ने सम्भावना रहेको छ ।

पेट्रोल पम्पहरुको मापदण्डको बारेमा ख्याल नहुनु र सम्बन्धित निकायको ध्यान त्यसतर्फ नजानुले बजार नजिक पम्पहरु खुल्ने क्रम बढिरहेको छ । पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली-२०७५ को परिच्छेद-३ विक्रेताको विक्रिस्थलको मापदण्ड सम्बन्धी व्यवस्था अनुसार साधारण बिक्रेता, पेट्रोल बिक्रेताबीचको बिक्रीस्थलको दुरी कम्तीमा तीन सय मिटरको परिधी बाहिर हुनुपर्ने ब्यवस्था गरेको छ भने प्याक्ड बिक्रेताको हकमा नमुना पम्प बिक्रेता, साधारण विक्रेता, पेट्रोल विक्रेता वा मट्टितेल विक्रेताको बिक्रीस्थलको दुरी कम्तिमा पाँच किलोमिटर परिधि बाहिर हुनुपर्ने ब्यवस्था छ ।


बिक्रेताले मापदण्डअनुसार गर्नुपर्ने कार्य नगरेको पाइएमा प्रथम पटक भए पच्चिस हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटक भए पचास हजार रुपैयाँसम्म जरिवाना तथा तेस्रो पटक भए एक लाख रुपैयाँसम्म जरिवाना र छ महिना सम्मको लागि आपूर्ति बन्द गर्न सकिने ब्यवस्था नियममा छ । विनियम अनुसार गर्नु पर्ने कार्य नगरेमा र गर्न नहुने कार्य गरेमा निगमले प्रथम पटक भए एक लाख रुपैयाँसम्म जरिवाना र छ महिना सम्मको लागि आपूर्ति बन्द, दोस्रो पटक भए पाँच लाख रुपैयाँसम्म जरिवाना र नौ महिनासम्मको लागि आपूर्ति बन्द तथा तेस्रो पटक भए दश लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्मको लागि आपूर्ति बन्द गर्ने गरि जरिवानाको ब्यवस्था गरेको छ ।

मापदण्ड अनुसार एक पम्पदेखि अर्को पम्पको दुरी ३०० मिटर हुनुपर्छ । बाँके जिल्लामा ४२ बढीको हाराहारीमा पेट्रोल पम्पहरु रहेको बताइन्छ । अधिकांश पम्प सडक छेउछाउमा छन् भने १०० मिटरकै दुरीमा पनि पेट्रोल पम्पहरु छन् ।
बजारमा मात्रै दुई दर्जन बढी पेट्रोल पम्प हाल सञ्चालनमा रहेका छन् । पुराना पम्पहरु नयाँ ठाउँमा पुर्नस्थापना नहुनु र नयाँ पम्पहरु समेत धमाधम सडक छेउमा खुल्न थालेपछि भविष्यमा झनै समस्या सिर्जना हुने जानकारहरु बताउँछन् ।

नेपालगञ्‍ज बजारको पुष्पलाल चोक, बीपी चोकलगायत सुर्खेतरोडको दायाँ बायाँ सडक छेउमै दर्जनौं पम्पहरु सञ्चालित छन् । सुरक्षाका दृष्टिकोणले निकै जोखिममा रहेका पम्पहरुको दायाँबायाँ होटलहरु छन् जसका कारण त्यस आसपासका स्थानीयहरु तर्सित छन् । बेलाबेलामा नेपालगञ्‍जका पम्पहरुको अनुगमन गर्ने समितिहरुले मापदण्ड विपरित रहेका पेट्रोल पम्पलाई मापदण्ड पुरा गर्न र स्थानान्तरण गर्न निर्देशन दिँदै आएका छन् तर पनि हालसम्म कुनै पनि पेट्रोल पम्प सारिएको पाईंदैन भने निर्देशनको पम्प सञ्चालकहरुले बारम्बार अटेरी गर्दासमेत पम्प सञ्चालकलाई कुनै पनि प्रकारको कारवाही भएको छैन् ।

नेपालगञ्‍ज उपमहानगरपालिकाको अति नै व्यस्त रहने बीपी चोक नजिकै रहेको पेट्रोल पम्पबाट झण्डै २०० मिटरको दुरिमा रहेको एउटा पसलमा केही समय अघि आगजनी भयो एकाएक ठुलो आगलागी भएपछि त्यस आसपासका स्थानीयहरु त्रसित भए । स्थानीय तथा प्रहरीको अथक प्रयासपछि आगो नियन्त्रणमा आयो जसले ठुलो क्षती हुनबाट जोगियो । यस्तै पुष्पलाल चोक नजिकै रहेको बागेश्वरी आयल स्टोर होटेलहरुको बीच सडक छेउमा सञ्चालित छ ।

यसरी पम्पहरु मापदण्ड अनुसार नभए पनि पहिले नै निर्माण गरिएका कारण अन्यत्र सार्न कठिनाई भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्‍जकि कमला न्यौपानेले बताइन् । उनले सबै पेट्रोल पम्पहरुको अनुगमन गरेर मापदण्ड बमोजिम व्यवस्थापन गर्न निर्देशनसहित पत्राचार गरेता पनि पूर्णरुपमाख निर्देशन पालना हुन नसकेको बताइन् । कोभिड-१९ का कारण अनुगमनसमेत नियमित हुन नसकेको उनको भनाई रहेको छ । दरबन्दी भन्दा ५० प्रतिशत कम कर्मचारी हुनुले पनि आयल निगमको काममा सहजता नआएको उनको दाबी छ । 


Author

थप समाचार
x