समाज

सेक्स एडिक्टदेखि मानसिक रोगीसम्म

सुनीता साखकर्मी |
चैत २१, २०७७ शनिबार ६:२९ बजे

काठमाडौँ : केही महिनाअघि एक अधवैंशे पुरुष अनौठो समस्या लिएर मनोविश्लेषक बासु आचार्य कहाँ आइपुगे । महिलाका खुट्टा देख्‍नै हुँदैनथ्यो । देख्यो कि छोइहाल्न मन लाग्थ्यो । महिलाका खुट्टा छोएर उनी आफ्ना यौन इच्छा पुरा गर्न चाहन्थे । महिलाको खुट्टा देख्यो कि उनमा यौनाच्छा जागृत हुन्थ्यो । घरमा आएका र भेटिएका प्रायः सबै महिलाका खाली खुट्टा देख्‍ने वित्तिकै छोइहाल्न मन लाग्थ्यो उनलाई । मनले गएर खुट्टा समाइहाल भन्थ्यो तर दिमागले छुनु हुन्‍न भन्थ्यो । छुने की नछुने भनेर मन र दिमागमा अक्सर द्वन्द चल्थ्यो । दिमागले जितेका बेला उनी रोकिन्थे । तर मनले जितेका बेला उनी आफुलाई सम्हाल्नै सक्दैनथे । 

उनी महिलाको नजिक पुग्थे । सम्बन्धको ख्याल हुँदैनथ्यो, गएर अगाडि भएका महिलाको खुट्टा समाइहाल्थे । अचानक खुट्टा समाउँदा उनका भाउजु/बुहारीहरू तर्सिए । उनको खुट्टा छुवाइ भाउजु बुहारीहरूलाई मन पर्दैनथ्यो । त्यसपछि बिस्तारै उनीदेखि सबै तर्किन थाले । तर पनि उनको ध्यान फेरिएन । त्यसपछि पाहुना आएका महिलाका खुट्टा छुने कोशिस गर्न थाले । 


घरमा उनको व्यवहारको बारेमा कुरा चल्न थाल्यो । उनले थुप्रैको गाली खान थाले । तर मन न हो, गुम्सिएर बस्न चाहेन । उनको व्यवहार फरक हुन थालेपछि उनको भाइलाई शंका लाग्यो । लकडाउनको समयमा घरमै मोबाइल चलाउँदा चलाउँदै मनोविश्लेषक बासु आचार्यको भिडिओहरू हेर्न पाए । त्यसपछि उनले दाइलाई आचार्य कहाँ ल्याए । 

‘दाइमा देखिएको समस्या हामीलाई अनौठो लाग्यो । परिवारको महिला सदस्यको मात्रै नभई उनले त आफन्तको पनि खुट्टा छुन थाले,’ उनका भाइ भन्छन्,  ‘दाइलाई केही मनोबैज्ञानिक समस्या पो भएन भनेर हामीले मनोविश्लेषक कहाँ ल्यायौँ ।’ ती पुरुषलाई भएको समस्या बेलिविस्तारमा सुनेपछि मनोविश्लेषक आचार्यले उनलाई ‘पाराफिलिया’ भएको पत्ता लगाए । जुन एक प्रकारको यौन विकार हो वा कुलत हो । आचार्यका अनुसार यो कुलत लागेको मानिसमा यौनको मात्रै ध्याउन्‍न हुन्छ । उमेर बढ्दै गएपछि जाग्‍ने यौन इच्छा स्वभाविक हो । तर यही इच्छाको मात्रा पनि बढी भयो भने त्यसले मानिसलाई तनाव दिन थाल्छ । 

त्यही तनावमा थिए, ति पुरुष पनि । अहिले आचार्यले नै उनलाई नियमित काउन्सिलिङ गरिरहेका छन् । ‘उहाँमा देखिएको समस्या एक किसिमको यौन विकार हो,’ आचार्य भन्छन्, ‘काउन्सिलिङपछि उहाँले महिलाको खुट्टा छुन कम गर्नुभएको छ । अरु काममा व्यस्त भएर खुट्टातिरबाट ध्यान हटाएर उनको ध्यान अन्य कामतिर जान थालेको छ ।’ 

यस्तो कुलतमा फसेकाहरूले अत्याधिक मात्रामा पोर्न भिडिओ हेर्ने, हस्तमैथुन गर्ने, महिलाहरूको अंगहरू चलाइदिने लगायत हर्कत गर्न थाल्छन् । आचार्यका अनुसार हस्तमैथुन गर्नु नराम्रो होइन, तर अत्याधिक मात्रामा त्यही बारेमा सोच्नु भने गलत हो । यस्ता क्रियाकलापले मानिसहरूलाई अपराधसम्म पुर्‍याउन सक्छ । यौनचाहना पुरा गर्न मानिसले बलात्कार गर्नेसम्मका हर्कत गर्न सक्छन् । नजिकैका आफन्तलाई गिद्दे नजरले हेर्ने गर्छन् । 

‘त्यस्ता मानिस यौन नै सबथोक हो भनेर बस्छन् । मानिसहरूले आफ्नो दैनिकी नै यौनजन्य कुराहरू मात्रै सोचेर बिताउने गर्छन्,’ आचार्यले भन्छन्, ‘अहिले अत्याधिक मात्रामा यौन कुलतमा फस्नेहरूको संख्या बढ्दै गएको छ ।’ आचार्यका अनुसार यस्ता यौन विकार वा कुलतहरू एकै किसिमको हुँदैनन् । यस्ता विकार भएका मानिसहरूले महिला पुरुषका संवेदनशील अंग छुने मात्रै नभई अन्य थुप्रै क्रियाकलाप गर्छन् ।  

उनी भन्छन्, ‘महिला वा पुरुषको भित्री वस्त्रहरू चोर्ने, सुँघ्ने, केटीको लुगा लगाएर यौन सम्बन्ध राख्‍ने, मृत लाससँग यौन सम्बन्ध राख्‍ने इच्छा हुनु, जनावरलाई यौन सम्बन्ध राख्‍ने, जानीजानी गाडीको सीटमा बसिरहेका महिलाको कुममा आफ्नो लिंग छुवाएर आनन्द लिने गर्छन् । त्यस्तै केही महिला वा पुरुषलाई आफ्नो पार्टनरलाई कुटीकुटी यौन सम्बन्ध गर्ने, लिंग प्रदर्शन गर्ने, बच्चाहरूको संवेदनशील अंगहरू, पशुहरूको यौनअंग चलाईदिने पनि हुन्छन् ।’ 

परिवारले बुझ्नुपर्छ, व्यवहार नियाल्नुपर्छ
मानिसको शरीरमा यौन उत्तेजना जाग्नु स्वभाविक भएपनि यौन विकारबाट ग्रस्तहरूले यी आवेगलाई बसमा राख्‍न सक्दैनन् । सामान्य मानिसहरूलाई ति आवेगलाई नियन्त्रण गर्नै मुस्किल पर्न सक्छ । दिमागले नगर भन्दा पनि मानिसले त्यसलाई रोक्न सक्दैन । उनीहरूलाई थाहा हुन्छ कि यो गलत हो, तर उनीहरूले आफुलाई रोक्न सक्दैनन् । त्यसपछि व्यवहारमा देखाइहाल्छन् । जसले समस्या निम्त्याउँछ ।   

मनोविश्लेषक आचार्य कुनैपनि मानिसमा यस्तो समस्या देखिए परिवारले उसलाई बुझ्नुपर्ने बताउँछन्। ‘परिवारले यस्ता विरामीहरूलाई छिछिदुरदुर गर्छन, नजिक पर्न दिँदैनन् तर परिवारले यो रोग हो भनेर बुझ्नुपर्छ’, उनी भन्छन्,‘यस्ता विरामीलाई मनोचिकित्सक कहाँ पुर्‍याउनुपर्छ, यस्ता व्यक्तिको व्यवहार नियालेर साथीभाइ तथा नजिकका व्यक्तिले पनि रोग नै हो कि भनेर ध्यान दिनुपर्छ।’ 

मनोविश्लेषक गोपाल ढकालका अनुसार मानिस यौनको मामिलामा कहिल्यै पनि सन्तुष्ट हुन सक्दैन । त्यसैले मानिसको ध्यान बारम्बार यौनतर्फ नै जाने हुन्छ । जसको कारणले मानिस अत्याधिक रूपमा विविध यौनसम्बन्धी क्रियाकलापमा सहभागी हुन्छन् । जब यौनको कुलतमा फस्छन्, तब उसले अनेक व्यवहार देखाउन थाल्छ । 

ढकालका अनुसार यस्ता व्यवहारलाई ‘साइको सेक्सुअल डिसअर्डर’ पनि भनिन्छ । उनी भन्छन्, ‘यौन सन्तुष्टिका लागि मानिसले पार्टनरको खोजी गर्ने, यौनको इच्छा पूर्ति गर्नकै लागि फरक फरक गर्लफ्रेन्ड बनाउने पनि गर्न सक्छन् । यसलाई बेलैमा नियन्त्रण नगरे यस्तो व्यवहार पछि गएर बलात्कार लगायत अपराधसम्म पनि पुग्‍न सक्छ ।’ 

त्यसैले समयमा नै यस्तो रोगलाई नियन्त्रण गर्नुपर्छ । यस्तो समस्या देखापर्ना साथ मनोविश्लेषक वा मनोचिकित्सक कहाँ उपचारको लागि लानुपर्ने ढकाल बताउँछन् । उनी भन्छन्, ‘यसको उपचार दुई प्रकारबाट गर्न सकिन्छ । औषधी पनि चलाउन सकिन्छ भने अर्को साइको थेरापी अपनाएर न्युनीकरण गर्न सकिन्छ । मनोविश्लेषकले खास कारण पत्ता लगाएर उपचार गरेमा यो नियन्त्रण गर्न सकिन्छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x