समाज

चोरी भएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता

इकागज |
साउन २९, २०७९ आइतबार १८:२४ बजे

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको १४ औं शताब्दीतिर बनेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ ।

पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै प्रस्तरबाट निर्मित करिव ११ औं शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरि विभागलाई हस्तान्तरण गरिएको छ ।


शिवको मूर्ति महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ । उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेश गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो । अमेरिका र बेलायतमा रहेका अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी दिए ।

हालसम्म बेलायतबाट १९ थान, अष्ट्रीयाबाट १ थान, अमेरिकाबाट २५ थान, तिव्वतबाट २८ थान, कलकत्ताबाट १३ , जर्मनी, इटालियन नागरिक र युरोपियन नागरिकबाट १–१ थान गरि जम्मा ८९ थान मूर्तिहरू नेपाल फिर्ता भइसकेको विभागले जनाएको छ ।  


Author

थप समाचार
x