समाज

व्रत समापन गरिँदै

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

इकागज |
साउन ३०, २०७९ सोमबार ६:२७ बजे

काठमाडौं - आज साउन महिनाको अन्तिम सोमबार । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि सुरु गरेको व्रत विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गर्दै छन् ।

पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ । पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।


साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताए । 
साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि घुइँचो लागेको हो । 

यस वर्ष साउनमा पाँच सोमबार परेका थिए । 


Author

थप समाचार
x