समाज

खोटाङमा म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन

इकागज |
असोज ७, २०७९ शुक्रबार १६:४८ बजे

खोटाङ- खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए । 

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो । 


म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म दिक्तेलको हेलिप्याडमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका र पूर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ । जिल्लामा करिब १२ देखि १३ सयको हाराहारीमा म्यादी प्रहरी छनौट गरिने सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायले बताए । 

परीक्षामा उत्तीर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलब, पोसाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x