समाज

निरन्तरको वर्षा : आफन्तकहाँ टीका लगाउन जान समस्या

इकागज |
असोज २०, २०७९ बिहीबार ९:५२ बजे

फाइल तस्बिर

काठमाडौँ - नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरू निरन्तरको वर्षाले समस्यामा परेका छन् । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरूप टीका, जमरा र आशीर्वाद लिन जाने समस्यामा परेका हुन् ।

दुई दशकको दसैँ मनाउँदा यसरी निरन्तर वर्षा भएको अहिलेसम्म आफूले थाहा नपाएको कागेश्वरी मनोहरा नगरपालिका–६ की कविता सापकोटा बताउँछन् । वर्षाकै कारण आफन्तकहाँ टीका लगाउन जान नपाइएको उनको गुनासो छ  ।
 
राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको यात्रुहरू बताउँछन् । देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आइरहेको जनाइएको छ । कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ ।
 
वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन । काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ ।


हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो ।
 


Author

थप समाचार
x