समाज

अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान

महिला हिंसाविरुद्धको अभियान चलिरहेको बेला सर्वोच्‍चको गेटमा न्याय खोजिरहेकी बिनु

'अदालत बिक्यो, न्यायाधीश बिक्यो अब मैले कहाँबाट न्याय पाउने ?'

इकागज |
मंसिर १३, २०७९ मंगलबार १३:६ बजे

काठमाडौँ- महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वोच्‍च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् । 

पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वोच्‍च अदालत पुगेकी थिइन् । तर, ट्याक्सीबाट ओलिर्नेवित्तिकै सुरक्षाकर्मीको घेरामा परेकी उनले आफू बोकेर गएको रातो रंग सर्वोच्‍च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो । 


आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याँकेकी उनले प्रहरीको गाडीभित्रबाट कराइन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’

उनले भनेजस्तै ३१औं अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान संसारभर चलिरहेको छ । तर, दैनिकजसो महिला हिंसामा परेको, हत्या भएको, न्याय नपाएको घटना सार्वजनिक भइरहेका छन् । 

न्यायकै लागि सर्वोच्‍च अदालत पुगेकी सिरहाकी विनु प्रहरी नियन्त्रणमा परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि उनले चिच्याउँदै भनिन्, ‘‘मलाई न्याय चाहियो ।’ 

उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उनी सडक संघर्षम उत्रिन थालेकी छन् । 

केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी उनले आफूमाथि पतिसहित घरपरिवारबाट  शारीरिक र मानसिक रुपमा हिंसा भएको बताउँदै आएकी छन् । काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको उनको आरोप छ ।


Author

थप समाचार
x