समाज

स्कटल्यान्डबाट घाइते कुकुरको खाेजीमा नेपाल चाहार्दै रोबर्टसन दम्पती

अतिन आचार्य |
मंसिर १९, २०७९ १३:३३ बजे

काठमाडौँ- ‘हिमालमा मानवता देख्छु । मलाई थातथलो छोडेर नेपाल आउन प्रेरित गरिरहन्छ,’ स्कटल्याण्डका जेम रोबर्टसनले सुरुमै नेपाल आउने कारण सुनाए । धेरै विदेशीको पर्यटकीय गन्तव्य हो नेपाल । नेपाल आउनुका धेरैका धेरे कारण होलान् । कतिपयलाई प्राकृतिक सुन्दरताले लोभ्याउँला। कति हिमाल र पहाड पछ्याउँदै आउँछन् । प्राकृतिक तथा धार्मिक सौन्दर्यता र जैविक विविधताले पनि पर्यटक लोभिएर आउँछन् ।

तर सबै ​विदेशीहरू नेपालको प्राकृतिक सुन्दरतामात्र अवलोकन गर्न आउँदैनन् । ​स्कटिस दम्पती भने कुकुर सम्झेर नेपाल आउँछन् । सडकमा दौड्ने घाइते कुकुर र हिमालका कारण उनीहरू धेरै पटक नेपाल आइसकेका छन् । 


पहिलो पटक सडकमा घाइते कुकुर देखेपछि उनलाई नेपाल आउने हुटहुटी जागेको थियो । पहिलो पटक नेपाल आएर छोडेको तीन वर्षमै उनीहरू फेरि नेपाली कुकुर‍ भेट्न आएका छन् ।

उनीहरूको नेपाल यात्रा कहानी अन्य पर्यटकको भन्दा रोचक छ । जसलाई नेपाल भित्र्याएको थियो हिमाल, कुकुर र मानवताले । रोबर्टसन दम्पती सन् २०१९ मा पहिलोपटक नेपाल आएका थिए । नेपाल बसाइ एक महिना थियो । केही समय हिमाली ट्रेक सकेर उनीहरू काठमाडौँका गल्ली डुल्थे ।

कोभिड-१९ को महामारीले उनीहरूको नियमित नेपाल आउने दैनिकी बदलियो । महामारी मत्थर भएपछि बिस्तारै नेपालको पर्यटन क्षेत्र चलायमान हुन थालेको छ  । उनीहरूको यात्राले पनि नेपालको पर्यटन उद्योगमा इट्टा थप्न सहयोग गरेको छ ।

ठमेलस्थित जेन स्पामा भेट्टिएका रोबर्टसन दम्पती दुई महिना अघि नेपाल आएका हुन् । यतिखेर सगरमाथा, गोक्यो र अन्नपूर्ण बेसक्याम्पमा १४ दिनको ट्रेकिङ यात्रा सकेर थाकेका शरीर लिएर गुल्जार ठमेलमा छन् ।

नजिकबाट हिमाललाई नियालेका रोबर्टसन दम्पतीले धेरै समयसम्म यात्रामा बिताएनन् । हिमालको चिसोले भन्दा पनि काठमाडौँका सडकमा भेटिने घाइते कुकुरको मायाले उनीहरूलाई तान्यो ।

सबैभन्दा बढी थाकेका छन् उनीहरू माया र उद्धारको खोजीमा रहेका कुकुरको अवस्था देखेर । काठमाडौँ फर्केलगत्तै घाइते कुकुरको खोजीमा छन् उनीहरू । यसका लागि उनीहरुले कहिले सडक नापिरहेका छन् त  कहिले उद्धार केन्द्र ।

रोबर्टसन दम्पतीले सडकका घाइते कुकुरमा नयाँ जीवन खोजिरहेका छन् । घाइते कुकुर भेट्दा सबैभन्दा बढी रोबर्टसन दम्पतीलाई पीडाले सताउने गर्थ्यो । घुम्न ल्याएको खर्च कटाएर घाइते कुकुरलाई उद्धार केन्द्रमा उपचार गरे उनीहरूले ।

मानिसमा मात्र नभई प्राणीमा पनि मानवता देख्न थालेपछि रोबर्टसन दम्पती कुकुरको खोजीमा लागेका हुन् । मानिसमा मात्र मानवता देखेका अहिले जीवजन्तुमा रहने विश्वास गर्छन् ७१ वर्षीय जेम ।

रोबर्टसन दम्पतीले तीन वटा घाइते कुकुरलाई स्कटल्याण्ड पनि लगेका छन् । नेपाली कुकुरले उपचारपछि नयाँ जीवन पाएको उनले बताए । ‘काठमाडौँका सडकमा डुल्ने कुकुरलाई अहिले हामीले समुद्री बीचमा डुल्ने बनाएका छौँ,’ उनी भन्छन्,’ कोभिडको समयमा हामीले घाइते कुकुरको उपचार गर्न नेपालमा पैसा पठायौँ । स्कटल्याण्डबाट खाना बेचेर पनि घाइते कुकुरको उपचार खर्च पठाउने गर्यौँ ।'

उनीहरूले कुकुरलाई स्कटल्याण्ड पुर्‍याउँदा विमानस्थलमा कुनै पनि झन्झट व्यहोर्नु परेन । रगत र रेबिजको मात्र परीक्षण गर्नुपरेको थियो । ‘मानिसको जस्तै विमानमा टिकट काट्नु परेको थियो,’ उनले पहिलो पटक कुकुर लैजाँदाको क्षण सम्झँदै भने,’ एउटा कुकुरको टिकट मूल्य डेढ लाख परेको थियो । यस पटक फर्कदा पनि घाइते कुकुर लैजाने योजनामा छैनौँ ।‘

रोबर्टसन दम्पती मानिस र कुकुरमा उति धेरै भिन्नता महसुस गर्दैनन् । अझ कतिपय गुणमा कुकुर मानिसभन्दा अब्बल रहने उनको धारणा छ । ‘ हामीलाई कुकुर जनावर जस्तो मात्र लाग्दैन ,’ उनले भने,’ मानिसमा हुनुपर्ने कतिपय गुण कुकुरमा छन् । धेरै मानिसमा नपाइने मायालु र इमान्दारीपन उनीहरूसँग छ ।‘

कुकुरले आशा राख्दैनन् । मायालु, इमान्दार र मालिकलाई देख्दा खुसी हुने भएकाले पृथ्वीमा कुकुर उच्च जातिको प्राणी लाग्छ रोबर्टसन दम्पतीलाई । कुकुरसँगको सान्‍निध्यताको सानाे कथा भने यी दम्पतीसँग पनि छ । त्यो के भने कुनै समय यी दम्पतीको घरमा पनि प्यारो कुकुर थियो जो एकदिन अचानक बित्यो । 

नेपालबाट उद्धार गरि लगिएका कुकुर स्कटल्याण्डमा खेल्दै

‘घरमा आफूले पालेको कुकुरको मृत्यु भएपछि सबैकुरा शून्य जस्तो लाग्यो,’ उनले मोबाइलमा राखेको फोटो देखाउँदै रोबर्टसन दम्पतीले भने,’ सानैदेखि पालेको कुकुरलाई आफ्नै सदस्य जस्तै माया गरेर राखेका थियौँ । हिमाल र कुकुरसँग नजिक बनाएको कुकुर साथमा नभएपछि हो ।‘

पेशाले चार्टड एकाउन्टेड हुन जेम । पैसाको हिसाब गर्ने जेमलाई कुकुरको मायाले संसार घुमाउने बनाइरहेको छ । पैसा साथमा भएर आनन्द प्राप्त गर्न नसकेको तीतो अनुभव उनीसँग छ । कुकुरलाई पच्छयाउन थालेपछि पीडा भुलेको र आनन्द प्राप्त गरेको उनी बताउँछन् । 

घरमा कुकुर नहुँदा शून्य लाग्ने भएकाले यात्रा गर्ने बानी बसेको जेमको छेउँमै बसेकी श्रीमती जिलले उत्साहित हुँदै बताइन् । उनी पेशाले योगा प्रशिक्षक पनि हुन् । फुर्सदको समयमा घरमा पालेका अन्य जनावरलाई हेरेर समय कटाउने गर्छिन् उनी ।

५१ वर्षीय जिल बाँकी जीवन घरपालुवा जनावरलाई स्याहार गरेर बिताउने योजनामा छिन् । प्रकृतिसँग नजिक हुनका लागि समय-समयमा नेपाल आइरहने उनी बताउँछिन् ।

उनीहरूले घरमा कुकुर, बिरालो र कुखुरा जस्ता अन्य साना-साना प्रजातिका जीवहरू पालेका छन् । घरपालुवा जनावरबाट टाढा जान नसकिने भएकाले कुकुरसँग सबैभन्दा बढी नजिक भएको उनको भनाइ छ ।

कपनस्थित कम्युनिटी डग वेल्फेयरको उद्धार गृहमा १ सय ५० घाइते कुकुर छन् । उद्धार गृहमा रहेका कुकुरलाई सामाजिक सञ्जालबाट फन्डराइज गरी खाना र उपचार खर्च जुटाइरहेको जिलले बताइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
ad
x