समाज

बस चालकको बयान

‘झ्याप्पै स्टार्ट बन्द भयो, जोगाउन सकिनँ’

नवराज पनेरु |
कात्तिक २८, २०७७ शुक्रबार १२:१६ बजे

धनगढी : दार्चुलाको गन्नाबाट पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार मध्यान्न १२ बजे महेन्द्रनगरका लागि छुट्यो । बसका चालक थिए, बैतडीका विरेन्द्र कार्की । सात वर्षदेखि बस चालक कार्कीले बैतडीको खोड्पेमा खाना खुवाउने गरी गाडी हाँकिरहेका थिए ।


‘रातिको सवा १० बजेको थियो भने खोड्पे पुग्न आधा किलोमिटर मात्रै बाँकी थियो । घुम्ति र सडकमा खाल्डाखुल्डी थिए,’ चालक कार्कीले भने, ‘घुम्तीमा गाडी मोड्न खोज्दा झ्याप्प स्टार्ट बन्द भयो । स्टेरिङ पनि लक भयो । त्यसपछि जोगाउनै सकिएनँ ।’ धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत कार्कीले खाल्डाखुल्डीसहितको सडक नै दुर्घटनाको मुख्य कारण भएको बताए ।

सोही बसका सहचालक दार्चुलाको शैल्यशिखरका रमेश खत्रीलाई भने बसले सडक छोड्दाको सम्झना छैन् । ‘म त निन्द्रामा थिए । निन्द्रा खुलेपछि घटनास्थलमा बचाउबचाउ भन्ने आवाज मात्रै सुनियो,’ खत्रीले भने ।

बस दुर्घटनामा परी नौं जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । घाइतेमध्य गम्भीर ११ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने अन्यको डडेल्धुरामा उपचार भइरहेको छ । कञ्चनपुर भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने वर्ष १५ की कृतिका कार्की, दार्चुला मालिकार्जुन गाउँपालिका डाडाकोट बस्ने जगन्नाथ ओझा, जिल्ला बैतडी दोगडाकेदार ६ सित्तड बस्ने कपिन्द्र प्रसाद जोशी, दार्चुला खरकडा बस्ने तर्कराज गिरी, बैतडीको दोगडाकेदार गाउँपालिका ६ बस्ने रणबहादुर चन्द, कंचनपुरको भिमदत्त नगरपालिका १० बस्ने बिज्ना देवी धामीको मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१४ फुलबारी बस्ने नरेन्द्र चौधरी, सोही वडाको आदर्श टोल बस्ने ऋषीराम चौधरी र बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने २७ वर्षीय करन सिंह ऐडीको मृत्यु भएको हो ।

रातिको समयमा बस दुर्घटना भएकाले अधिकांश यात्रु निन्द्रामा थिए । दुर्घटनाका घाइतेहरुले पनि बस खस्दा होस नभएको बताएका छन् । फोन गरेर सडक दुर्घटनाबारे जानकारी दिने बैतडीको दोगडाकेदारका नितेश भट्टले होस खुल्दा घटनास्थलमा चित्कार मात्रै सुनिएको बताए । दुर्घटनामा घाइते भएका उनले आफ्नो होस आउँदासम्म त्यहाँ उद्धारकर्मी नपुगेकाले फोन गरेर सडक दुर्घटना भएको जानकारी दिएको बताए ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले प्राविधिक गडबढी भएको र तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने बताए । यकिन कारण भने अहिले नै भन्न नसकिने गौतमले बताए । बस दुर्घटना भएको खबर प्रहरीले राति १०:२४ मा पाएको थियो । त्यसलगत्तै उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

र, यो पनि
बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु


Author

थप समाचार
x