समाज

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

इकागज |
पुस २९, २०७९ शुक्रबार १८:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायतका क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले उक्त नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।


दिवसका अवसरमा मूल समारोह समितिले माघ २ गते कमलपोखरीमा कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियता रहने छ ।   

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २९३ वटै नगरपालिकामा आर्थिक मानवीय स्रोतका अभावमा भवनसंहिता लागू गर्न नसकिएको बताउनुभयो । यसका लागि सरकारबाट छुट्टै अनुदान आउन नसक्दा समस्या भएको उहाँको भनाइ थियो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले यस अवसरमा दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको जनचेतनामूलक प्रदर्शनीलाई पनि यसै पटकदेखि निरन्तरता दिन लागिएको बताए ।

विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्त्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।    

यसको पुनःनिर्माणका लागि सात वर्ष अघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरे । रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण गत वर्ष सम्पन्न भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकिएको अवधिमा काम नसकेपछि पुनःनिर्माणका बाँकी काम सम्बन्धित विभागलाई हस्तान्तरण गरिएको छ ।

भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ । 

दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान सुरु गरेको छ । यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ । यसै वर्ष लमजुङ, डोटीलगायत जिल्लामा गएको भूकम्पले पनि मानिस प्रभावित भएका छन् । त्यसको लगत सङ्कलनको काम भइरहेको विभागले जनाएको छ ।


Author

थप समाचार
x