समाज

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा लगाइयो

इकागज |
माघ २५, २०७९ बुधवार २१:५९ बजे

फाइल फोटो

सिरहा - सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट उद्धार गरी प्रहरीले आज परिवारको जिम्मा लगाएको छ । गत आइतबारदेखि हराइरहेका सिरहा नपागरपालिका– ६ वसविट्टाका मोहम्मद रजाक मन्सुरकी १४ वर्षीया छोरी किनुडी खातुन र मोहम्मद साहिद मन्सुरको १२ वर्षीय छोरा मोहम्मद अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो ।

सिरहाकै लिटिल स्टार स्कुलमा कक्षा ८ र ४ मा अध्यनरत बालबालिका स्कुल छुट्टी भएपश्चात अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको र तत्काल प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी रामचन्द्र साहले जानकारी दिए । 


अनुसन्धानकै क्रममा बालबालिका भारत, बिहार राज्यको समस्तीपुरमा रहेको भन्ने बुझिएकाले तत्कालै वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब निरीक्षक राजेश यादवको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वयमा फेला पारी उद्धार गरेको सिरहा प्रहरीका निमित्त सूचना अधिकारी साहले जानकारी दिए । 


Author

थप समाचार
x