समाज

पशुपतिमा अव्यवस्थित टहरा, कहिले भरिन्छ सुन्दरता ?

पुष्प श्रेष्ठ |
फागुन ४, २०७९ बिहिवार १८:११ बजे

काठमाडौँ- संघीय राजधानी काठमाडौँका मुटुमा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो, पशुपति मन्दिर । बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ । सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकाले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ । पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल अखडा पनि रहेका छन् ।


पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाका रूपमा रहेको छ । जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा बागमती नदीले यसको महिमा अझै बढाएको छ । तर पछिल्लो समय देवस्थल लगायत सार्वजनिक स्थल माथिको राजनैतिक प्रभावले देवालय मात्र हैन, सबै क्षेत्र थिलोथिलो पारी रहेको छ ।

दैनिक रूपमा हजारौँ दर्शनार्थी देश तथा विदेशबाट आउने गर्दछ । तर मन्दिर व्यवस्थापनदेखि सरसफाइमा गरिएको हेलचेक्राइँ अनि मन्दिर प्रवेशसँगै फुटफाथ व्यपारीहरूको तानातान, अव्यस्थित पार्किङ, सडकको दायाँबायाँ देखिन मगन्तेले दिने दुःखले सबैलाई आजित पारेको सबैमा सर्वविदित छ नै । तर यहाँ देखिए नदेखिएकै ठीक भनेर होला कसैलाई वास्ता छैन । मन्त्रीलगायत उच्च ओहदामा बस्नेहरू निर्देशनमा व्यस्त । निगरानी शून्य । झन् पशुपति विकास समिति त पद ओगटेर बस्नेबाहेक खासै काम गरेको देखिन्न काम नै गरिरहेको भए मन्त्रीको निर्देशन आवश्यक थिएन ।

शिवरात्रि आउन अब धेरै दिन बाँकी छैन । एक पवित्र मन्दिर जुन विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ सफा गर्न रंग्याउन पनि शिवरात्रि नै आउनुपर्ने अनि मन्त्रीले निर्देशन नै दिनुपर्ने ? किन यस्तो परिस्थिति रहयो यसको लेखाजोखा कस्ले गर्ने । दर्शनार्थी त आउँछ जान्छ । गुनासो सुनिदिने कोही छैन । भएका सुरक्षाकर्मी पनि दिन कटाउन र आफ्नो तनखा जोगाउने भन्दा केही देखिन्न नत्र अधिकार सम्पन्न सुरक्षा निकायले राज्यले दिएको निर्देशनलाई सदा आत्मा साथ गरी अगाडि बढ्नुपर्ने हो तर यस्तो देखिन्न किन ?

निर्देशन पाएपछि त त्यहीअनुसार कामले गति लिनुपर्ने हो । तर निर्देशनका लागि मात्र निर्देशन मात्र मान्ने बानीले शिवरात्रिको अन्तिम दिन आउन लाग्दासम्म पनि सरसफाइ लगायतको कार्यसम्म सकिएको छैन । शिवरात्रिमा दर्शन गर्नका लागि देश विदेशबाट दर्शनाथीहरू पशुपत क्षेत्रमा पुग्न थालिसकेको छ । तर जहाँबाट मन्दिर प्रवेश गर्नका लागि प्रवेशद्वारहरू बनाइएको छ । त्यहीँबाट मन्दिरभित्र प्रबेश गरेको भाव आउनुपर्ने हो तर माग्नेहरूले मन्दिर प्रवेश नै खल्लो पार्न सुरू गर्छ । त्यसपछि प्रसाद बिक्रीका लागि खोलिएका असरल्ल स्थलहरू व्यापारीले थाल्ने अव्यावहारिक शैली अनि मन्दिरको शोभालाई नै ओझेलमा पार्ने थोत्रे जस्ताहरूले बेरिएका स्टलहरूले मन्दिरको शोभालाई नै बिगारिदिएको छ । पशुपति विकास समिति नाम गरेका नेपाल सरकारको मातहतमा रहेको समितिले देख्न नसकेका वा देखेर पनि बुझ पचाएका हुन वा सुन्दरता देखाउँदा नेपालको प्रचार प्रसार बढ्छ भन्ने डरले हो ? नत्र त समय सापेक्ष व्यवस्थापनका साथै परिर्वतन गर्न सकिने सजावट त गर्न सकिन्थ्यो होला ।

मन्दिरै मन्दिर भएको देश आज जीर्ण बन्दै गइरहेको छ । सामान्य भन्दा सामान्य जीर्णहरूलाई पनि निर्देशन नै कुर्नुपर्ने हो भने त भन्न केही छैन ।

मन्दिर पनि सायद अगाडि र पछाडिको भाग छुट्टै हुन्छ ? अगाडिको मुख्य भाग सरसफाइ गरी टिलिक्क पारी राख्नुपर्ने तर पछाडिको भाग वर्षेदेखि लेउ र झारले सजाई राख्नुपर्ने

पंक्तिकार गत साउनकाे एक सोमबार पशुपति क्षेत्रमा पुग्दा पनि यो दृश्यमा देखिएको पार्ट यस्तै थियो अनि आज पनि, त्यहाँ कसैको ध्यान पुगेको छैन । सयौँ मानिस अगाडिबाट दर्शन गरी जाने त बागमती तरेर पारि नै हो । अधिकांशले पारिबाटै तस्बिर लिन्छन् र सामाजिक सञ्जालमा पोष्ट गर्छन् । तर पनि मन्दिरको व्यवस्थापन, सरसफाइ गर्नेले देखेन ।

त्यति मात्र हैन वर्षैदेखि सञ्चालनमा रहेको वैध अस्पताल जहाँ मृत्युको अन्तिम श्वास कुर्न पुग्छन् । त्यहाँको अवस्था पनिी वर्षेदेखि केही सुधार हुन सकेन ।

साँझको आरती पनि त्यस्तै छ । आरती हेर्न पुग्नेहरूलाई आरती सञ्चालकहरूले गर्नै व्यवहार दुःखलाग्दो छ । १५ सयदेखि माथि जति पनि भेटी चढाएर आरती गर्ने प्रचलनमा पनि व्यक्तिगत सस्था हाबी भइदिँदा मानिसमा आरतीप्रतिको आस्था दिनदिन आरतीसँगै पग्लँदै गएको देखिन्छ । पशुपतिनाथ मन्दिर जस्तो पवित्र स्थलमा यति आरतीलाई समेत व्यवथित गर्न सकेका छैनन् पारिपट्टि आरती वारिपट्टि लास जलिरहेको हुन्छ । पीडामा परेकाहरू आँसुका भेलसँगै आफन्तको अन्तिम बिदाइ जलिरहेको चिता नजिकै अनि त्यही पारिपट्टि आरती यसको पनि सम्बन्धित निकायले व्यवस्थित गरिदिए कति राम्रो हुने थियो ।

पैसा तिर्ने मात्र हैन हेर्न जाने दर्शनार्थीहरूलाई पनि आरती सञ्चालक समितिले नरम व्यवहार गरिदिए कति राम्रो हुने थियो ।

शिवको प्रसाद भन्दै मातिएका युवाहरू, उज्यालोको अपर्याप्तता, सुरक्षा गार्डहरूको सक्रियतामा अल्छेपना, विभिन्न बाबाको नाममा पशुपति क्षेत्र ओगटेर बसेका जोगीहरू, मन्दिरको चारैतिर छरिएका माग्ने देखी, शौचालय, खानेपानी, प्रसाद बिक्रीका लागि बनेका टहराहरू होटलमा होटवालहरूको मनलाग्दी पैसा असुल, सुरक्षा निकायको निगरानीभन्दा विभिन्न स्थलमा सिसी क्यामेराको व्यवस्था गरी निगरानी बढाउने र फिल्डमा रहेका सुरक्षाकर्मी सक्रिय बनाउने हो भने पक्कै सुधारको सहजतामा हाम्रो पशुपतिनाथले सुन्दरता पाउँथ्यो होला ।  


Author

थप समाचार
x