समाज

पोखरा १३ मा ७१ जनाले लिए निःशुल्क होटल तालिम

इकागज |
चैत १, २०७९ बुधबार १७:१७ बजे

काठमाडौँ- पोखरा महानगरपालिका १३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीलाई होटल तालिम दिएको छ । एक महिनासम्म चलेको तालिम पोखरा १३ को आर्थिक सहयोग र एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।


तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार तालिममा ४१ पुरुष र ३० महिला सहभागी भएका थिए । तालिममा युवायुवतीले बारिस्ता तालिम लिए ।

सहभागीलाई महेन्द्रपुलस्थित एभरेष्ट इन्स्टिच्युटले तालिम प्रदान गरेको थियो । ‘तालिमले स्थानीय युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर बनाइ थप जीवनयापन गर्न सहज विश्वास गरेका छौ,’ उनले भने,’ सीप सिकौ र आत्मनिर्भर बनौँ भन्ने अभियानका साथ तालिम आयोजना गरिएको थियो ।'

आगामी दिनमा थप यस्ता आत्मनिर्भर मुखी कार्यक्रम ल्याई स्थानीयलाई जिविकोपार्जनका लागि थप सहज बनाइने उनले प्रस्ट पारे ।

तालिममा सहभागी सबैलाई महानगरका शिक्षा प्रमुख हेमप्रसाद आचार्यले प्रमाणपत्र वितरण गरेका थिए । उनले वडाले यस्ता प्रोत्साहनमूलक कार्यहरू गर्नलाई सुझाए ।

‘युवाहरूमा गरेको लगानी खेर जाँदैन । लगानीलाई थप फलदायी बनाउन सबैजनाको सक्रियताको आवश्यक रहेको छ,’ प्रमुख अतिथि आचार्यले भने ।


Author

थप समाचार
x