समाज

विभागमा घटे, जिल्लामा बढे

आठ महिनामा नौ लाखले लिए राहदानी

साउनदेखि फागुनसम्म ६ अर्ब बढी राजश्‍व संकलन

अतिन आचार्य |
चैत ६, २०७९ सोमबार १४:२३ बजे

काठमाडौँ- राहदानी विभागले सेवाग्राहीलाई आठ महिनामा नौ लाख ८ हजार ७४२ राहदानी वितरण गरेको छ । विदेशस्थित ३८ वटा कूटनीतिक नियोग, ७७ जिल्ला, १७ इलाका प्रशासन र राहदानी विभागबाट कूल नौ लाख बढी राहदानी वितरण गरिएको विभागले जनाएको छ ।

विद्युतीय राहदानी नौ लाख १ हजार र ७ हजार ७०७ वटा राहदानी वितरण गरिएको विभागका सूचना अधिकारी खिमानन्द भुसालले जानकारी दिए । उनका अनुसार त्रिपुरेश्वरबाट विद्युतीय राहदानी र मेसिन रिडेबल राहदानी (एमआरपी) सेवाग्राहीलाई दिने गरिएको छ ।


त्यसैगरी, विभागले साउनदेखि फागुन मसान्तसम्ममा ६ अर्ब ४२ करोड १५ लाख ५९ हजार ५५७ रुपैयाँ राजश्व संकलन गरेको छ । विदेशस्थित ३८ वटा कूटनीतिक नियोग, ७७ जिल्ला, १७ इलाका प्रशासन र राहदानी विभागबाट ६ अर्ब बढी राजश्व संकलन गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब १२ करोड ६९ लाख २० हजार ५९७ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

पछिल्लो समय विभागमा राहदानी आवेदकको संख्या घट्दै गएको छ । विभागमा राहदानी लिनेको संख्या घटे पनि जिल्लामा आवेदन दिनेको संख्या बढेको सूचना अधिकारी भुसालले जानकारी दिए । 'सेवाग्राहीलाई अर्जेन्ट आवश्यक परेमा राहदानी दिने गरिएको छ,' उनले भने, 'विदेशमा उपचार गर्न जाने, पाँच वर्षमुनिका, ज्येष्ठ नागरिक, राष्ट्रिय कलाकार, खेलाडी तथा वैदेशिक रोजगारबाट रिटर्न टिकट लिएर आएकालाई पनि तत्कालै राहदानी दिने गरिएको छ ।'

विभागमा अर्जेन्ट परेकाहरू आएमा सहजै राहदानी पाउने भुसालले दाबी गरे । 'गृह जिल्लाबाट सेवाग्राहीले १५ दिनमा राहदानी बनाउन सक्छन्,' उनी भन्छन्, 'विभागमा आएर सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्नु परेको छ ।'

विभागले दैनिक १५ सय राहदानीका लागि आवेदन खुलाउने गरेको भुसालले जानकारी दिए ।

'हाल ६ हजार राहदानी उत्पादन भइरहेको छ । अहिले पनि सेवाग्राहीले राहदानीका लागि सहजै अनलाइनबाट फारम पाउन सकेका छैनन्,' उनले अगाडि थपे, 'सेवाग्राहीको इन्टरनेट सेवामा पहुँच नभएकाले सहजै राहदानीका लागि आवेदन दिन सक्दैनन् । उनीहरू बाध्य भएर साइबरमा फारम बुझाउनु पर्ने अवस्था छ ।'

सेवाग्राहीको सेवालाई ध्यानमा राखी सार्वजनिक विदाको दिन पनि सेवा दिनु परिरहेको उनले बताए ।

'सरकारको नीति अनुसार सार्वजनिक विदाको पनि हामीले सेवा प्रवाह गरिरहेका छौँ,' उनको भनाइ छ, 'हामीसँग पर्याप्‍त कर्मचारी नभएकाले पनि व्यवस्थापनमा समस्या भइरहेको छ ।'

केही सेवाग्राहीको एकभन्दा बढी नागरिकता भएकाले समयमा राहदानी नपाएर उनीहरूले गुनासो गर्ने गरेको भुसालले जानकारी दिए । 'कागजपत्र नमिलेकाहरूले विभागमा भीड गरिरहेका छन्,' भीड हुनुको कारण बारेमा सोध्दा उनी भन्छन्, 'सेवाग्राहीले पेश गरेका कागज फर्जी हुँदा मात्र उनीहरूले भनेको समयमा राहदानी नपाएका हुन् । आवश्यक र तथ्यसहितका कागजपत्र पेश गरेमा सेवाग्राहीले सहजै राहदानी पाइरहेका छन् ।'

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x