समाज

पहिलो वर्ष विधि र प्रणाली सुधारको कामलाई प्राथमिकतामा राखेकी छु : उपप्रमुख डंगोल

इकागज |
चैत ६, २०७९ सोमवार १७:९ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नियम-कानुनको सबैले पालना गर्नुपर्ने बताएकी छन् । सोमबार काठमाडौँमा एक कार्यक्रममा उनले नियम-कानुनको सबैले पालना गर्नुपर्ने बताएकी हुन् ।

‘सरकारी पदमा बसेको व्यक्ति होस वा आमनागरिक नियम–कानुन सबैका लागि बराबरी हो,’ उनले  भनिन, ‘नियम–कानुनको सबैले पालना गर्नुपर्छ । त्यो भएन भने त्यसले गलत संस्कारको विकास गर्छ र ठूलो दुर्घटना पनि हुनसक्छ । मैले मेरो क्षेत्राधिकार भित्र पर्ने काममा नियम–कानुनको पूर्ण पालना गरेर गर्ने गरेकी छु । महानगरपालिकामा उपप्रमुखको जिम्मेवारीमा रहिरहेका बेला यो विषयमा मैले निरन्तर आवाज पनि उठाउँदै आएकी छु ।’


उनले स्थानीय तहको निर्वाचनपछिको पहिलो वर्ष विधि र प्रणाली सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि जानकारी दिइन् । ‘काठमाडौँले बचाइ राख्नुपर्ने मौलिकता, जोगाइ राख्नु पर्ने सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानसँग जनताका बदलिँदा प्रविधि तथा भौतिक विकासका बीचमा सन्तुलन गर्न विधि, पद्धति र प्रणाली बलियो हुनुपर्छ,’ उनले भनिन्, ‘संविधान, संघीय तथा प्रादेशिक कानुनले स्थानीय तहलाई दिएका अधिकारलाई नागरिकको चाहना बमोजिम उपयोग गर्छौँ ।’

काठमाडौँ महानगरपालिकाले ७ सय ५२ वटै पालिकाका प्रतिनिधिको उपस्थितिमा ‘ न्यायिक समिति राष्ट्रिय सम्मेलन’ गर्ने तयारी गरेको पनि जानकारी दिइन् । चैत १५ र १६ गते प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा उक्त सम्मेलनको आयोजना गर्ने तयारी भएको उनले जानकारी दिइन् ।

महानगरपालिकाले ७ सय ५२ वटै पालिकालाई निमन्त्रणा पत्र पठाएको पनि उपप्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले जानकारी दिइन् । ‘सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा पत्र पठाएका छौँ,’ डंगोलले भनिन्, ‘पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्य मध्येबाट सहभागिता जनाउन अपील गरेका छौँ । एक सय बढी पालिकाले हामीलाई सहभागिता जनाउने औपचारिक जानकारी दिएका छन् ।’

 


Author

थप समाचार
x