समाज

साउदी अरेबिया पुगेका युवा काम नपाउँदा अलपत्र

इकागज |
चैत १६, २०७९ बिहिवार ८:२१ बजे

काठमाडौँ- वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।

रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दासमेत रोजगार विहिन बनाइएको राईले गुनासो गरेका छन् । 


राईलगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठमाडौँमार्फत साउदी अरेबियाको नास मेनपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरू मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेवरका रुपमा नास मेनपावर सोलुसन कम्पनीमा पुर्‍याइएका हुन् । हाल होटल किचन वर्करका रुपमा काम लगाइएका उनीहरूको सामान्यः खाने र बस्ने व्यवस्था भने नास मेनपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा मेनपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् ।

‘मेनपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ । रोजगारी देउ भनेर कुरा राख्दा नेपालको मेनपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘मेनपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बंगुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’ 

काम र दाम बिहिन बनाइएका १०/१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरूका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौं युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतिक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि वैदेशिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् । उद्धारका लागि वैदेशिक रोजगार विभागमा पुग्दा मेनपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए । 


Author

थप समाचार
x