समाज

मिटरब्याज पीडितलाई सरकारसँग छैन विश्‍वास, भोलिदेखि 'निर्णायक संघर्ष' गर्ने

इकागज |
चैत १९, २०७९ आइतबार १४:१२ बजे

काठमाडौं– मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति, नेपालले सरकारले व्यक्त गरेको प्रतिबद्धतामा विश्वास नभएको बताएको छ । आइतबार एक वक्तव्य जारी गर्दै संघर्ष समितिले सरकारले गरेको प्रतिबद्धतामा आफूहरूलाई शंका उत्पन्न भएको बताएको हो । 

सरकारले पीडितसँग यसअघि पनि पटकपटक मिटरब्याजी सुदखोरलाई कारबाही गर्ने प्रतिबद्धता जनाएर कारबाही नगरेकोले आफूहरूलाई विश्वास नभएको संघर्ष समितिको जिकिर छ । 


‘सरकारी टोली र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच भएको सम्झौताले हामीमा सरकारको प्रतिबद्धता प्रति संशय उत्पन्न भएको छ । असोज १ गते हाम्रो संघर्ष समितिसँग यस्तै अन्तर्यको सम्झौता भएको थियो । हाल केवल आयोग गठन गर्ने बुँदा नयाँ छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘आयोग गठनले समस्या समाधान गर्ने छैन, बरु लम्ब्याउने छ ।’ 

सरकारले आफूहरूसँग सम्झौता गरेपछि तीनवटा परिस्थिति उत्पन्न भएको उसको भनाइ छ । ‘एक मिटरब्याज पीडितका जाहेरी जिल्ला प्रशासन कार्यालयले लिइरहेको छ । तर कानुनको अभावमा धेरै जाहेरी कारबाही प्रक्रियामा जाँदैनन् । उल्टै प्रशासनको दबावमा प्रचलित कानुनले तोकेको १० प्रतिशत व्याज विपरीत कतिपय मुद्दा अन्यायपूर्ण तरिकाले जबरजस्ती मिलाइन्छ । प्रशासनले न्यायपूर्ण ढङ्गले हल गर्न खोजेको सन्दर्भमा समेत सुदखोरहरूले अदालत दुरुप्रयोग गरेर मुद्दामाथिको कारबाही निष्प्रभावी बनाइरहेका छन्,’ वक्तव्यमा उल्लेख छ । 

उसले दोस्रो कारणका रुपमा भनेको छ, ‘फर्जी तमसुकको बलमा साहु महाजनले धमाधम अदालत मार्फत किसानको जमिन हड्पिरहेका छन् । मिटरब्याजका तमसुक अवैध ठहर गर्दै अदालतमा जारीमा मुद्दा प्रक्रियालाई स्थगित नगरे किसानहरू भूमिबाट बेदखल हुने गति तीव्र हुन्छ । अहिलेको चुनौती नै यस्तो अवस्था तत्काल रोक्नु हो ।’

साहु महाजनले पीडित किसानलाई तमसुकसँगै चेकको सहारामा रकम प्रवाह गर्न बाध्य बनाइरहेको आरोप संघर्ष समितिले लगाएको छ । संघर्ष समितिले मिटरब्याजविरुद्ध भोलि सोमबार २० गतेदेखि काठमाडौंमा निर्णायक आन्दोलन गर्ने पनि बताएको छ । 

‘हाम्रो संघर्ष समितिले देशका विभिन्न भागबाट पीडितलाई काठमाडौमा केन्द्रिकृत गर्दै यही चैत २० गते देखि निर्णायक संघर्ष गर्ने तय गरेको छ । सो संघर्षमा सहभागी भई आर्थिक न्यायको संघर्षलाई निर्णायक मोड दिन सम्पूर्ण मिटरब्याज पीडितहरूमा अपिल गर्दछ,’ संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सरकार र मिटरब्याज पीडित किसानबीच शनिबार ५ बुँदे सम्झौता भएको थियो । 

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।
 


Author

थप समाचार
x