समाज

१८ घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

इकागज |
बैशाख १९, २०८० मंगलबार १०:५६ बजे

धादिङ - पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ ।

धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमा जमिन भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो ।


भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मेहम्मे छ । पूर्व(पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ ।

पूर्व(पश्चिमबाट राजधानी काठमाडौँ आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेँसी, आदमघाटलगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ । बाटो एकतर्फी खुलाइए पनि तत्कात सहजै बाटो पास गर्न कठिन छ । सयौँ सवारी सडकमा रोकिएकाले ती सवारीसाधन पार गराउन अझै केही घन्टा लाग्ने प्रहरीको भनाइ छ ।
 


Author

थप समाचार
x