समाज

जहाँ जान्छिन् डा. सुमित्रा, त्यहाँका अस्पताल उत्कृष्ट

सृजना खड्का |
जेठ १४, २०८० १८:२० बजे

यही हप्ता भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट अस्पताल ठहरियो । स्वास्थ्य मन्त्रालयबाट न्यूनतम सेवा मापदण्डका आधारमा अस्पतालाले ९७ अंक हासिल गर्यो । 

तर, यो समाचार बाहिरिने बित्तिकै अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले सामाजिक सञ्जालमा केहीको कमेन्ट देखिन् – त्यस्तो पुरानो/थोत्रो अस्पताल पनि कसरी उत्कृष्ट हुन्छ ? 


मेसु डा. सुमित्रा भन्छिन्, ‘हेर्दा चिल्लो भएर मात्रै त्यो अस्पताल उत्कृष्ट हुने होइन । न्यूनतम सेवा सुविधा, बिरामीको संख्या, सेवा प्रवाहको अवस्था आदिलाई मूल्याङ्कन गरिन्छ । सरकारबाट उपलब्ध संयन्त्रको राम्रोसँग परिचालन भएको छ/छैन पनि हेरिन्छ ।’

भक्तपुर अस्पतालमा उनको यो दोस्रो कार्यकाल हो । पहिलोपटक २०७६ सालमा उनले यहाँको जिम्मेवारी पाएकी थिइन् । यसपटक डा. सुुमित्राले नेतृत्व सम्हालेको सात महिना हुँदैछ । उनी आउनुअघि अस्पतालले मन्त्रालयबाट जम्मा ३८ अंक पाएका थियो । तर, उनको नेतृत्वमा २०७७ सालमा ८२ अंक प्राप्त गरेर भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । ‘कोरोना महामारीमा राम्रो काम गरेको भनेर हामी उत्कृष्ट बनेका थियौँ,’ उनी भन्छिन्, ‘भक्तपुर अस्पताल स्थापना भएको १ सय १६ वर्षपछि हामीले आईसीयू सञ्चालनमा ल्याएको थियौँ । भेन्टिलेटर सेवा सुरु गरेर वर्षौदेखि थन्किएका उपकरण चलाएका थियौँ ।’ 

कोभिडको समयमा मात्रै उनले १४ ओटा राष्ट्रिय अवार्ड पाइन् । यसअघि सिन्धुली अस्पताल उनको नेतृत्वमा देशकै नमुना अस्पताल बनेको थियो । त्यस्तै, सिराहा अस्पतालको स्वरुप नै फेरिएको थियो । २०–३० जना बिरामी पनि मुस्किलले आउने खजुरा स्वास्थ्य केन्द्रमा उनी गएपछि दैनिक ३ सय जना बिरामी आउन थालेका थिए । अहिले पनि भक्तपुरमा विभिन्न जिल्लाका बिरामीहरू उनलाई पछ्याउँदै आउने गरेका छन् । 

भक्तपुर दुवाकोटकी डा. सुमित्रा सानैदेखि महिलाको आङ खसेको, सुत्केरी हुन नसकेको कुरा सुन्थिन् । जुन उनलाई असाध्यै नरमाइलो लाग्थ्यो । त्यहीबेला उनले डाक्टर बन्ने योजना बुनेकी थिइन् । डाक्टर बनेपछि विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूको सेवा गर्ने उनको सपना थियो । त्यही सपना पछ्याउँदै उनी नेपालगञ्ज मेडिकल कलेज पुगिन् । उनले मेडिकल पढ्दा २०६२/०६३ को जनआन्दोलन चर्किरहेको थियो । त्यसताका उनले फिल्ड फिजिटका क्रममा थुप्रै जिल्ला जाने मौका पाइन् ।

पढाइ सकेर उनी बाँकेको खजुरा प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन् । जहाँ कोही बिरामी आउँदैनथे । सिटामोल किन्न १० किलोमिटर टाढा जानुपर्थ्यो । सिराहाको प्राथमिक स्वास्थ्य केन्द्र डा. सुमित्राकै नेतृत्वमा अस्पतालमा परिणत भएको थियो ‘त्यहाँ अस्पताल बनाउनुपर्छ भन्ने कसैको सोच थिएन,’ उनी भन्छिन्, ‘मैले आफ्नै तलबको पैसा हालेर सुरुवात गरेको थिएँ ।’ 

भक्तपुर अस्पताल वीर अस्पतालपछिको पुरानो भन्ने उनले सुनेकी थिइन् । तर, यो अस्पताल गाउँको प्राथमिक स्वास्थ्य केन्द्रसँग पनि दाँज्न नमिल्ने अवस्थामा थियो ।

बाहिरी जिल्लामा सरकारी अस्पताल राम्रो बनाउँदा निजीतर्फबाट निकै धम्की आउँथ्यो । ‘बिरामीको रगत लिएर जाँचै नगरी आफैँले रिपोर्ट लेख्नेहरू पनि थिए,’ उनी भन्छिन्, ‘ती सबैको व्यापार डुब्ने भएर मलाई धेरै धम्की आउँथ्यो । तर, पछि त्यहाँका जनताहरूले राम्रो काम गरेको भन्दै मलाई साथ दिए ।’

यसरी विभिन्न जिल्लामा जाने क्रममा उनले थुप्रै अनुभव बटुलेकी छिन् । दैलेखको एउटा घटना अहिले पनि ताजै छ । जहाँ एकजना महिला भिरको बाटो डाक्टर आउँछन् भनेर तीन जना बच्चा अगाडि/पछाडि बोकेर आएकी थिइन् । ‘ती महिला तीन दिन दुई रात हिँडेर आएकी रहिछिन्,’ उनी सुनाउँछिन्, ‘अलिकति मात्रै खुट्टा चिप्लिएको भए तीनैजना बच्चासहित नदीमा डुब्ने रहेछन् ।’

त्यस्तै, सिन्धुली अस्पतालमा काम गर्दा पनि उनले थुप्रै अनुभव बटुलिन् । त्यहाँका मानिसहरू पिलो चिर्न पनि काठमाडौँ आउँथे । कुनै पनि रोगका विशेषज्ञ डाक्टर थिएनन् । मेडिकल सुपरिटेन्डेन्ट भएर गएकी उनी सबै काम आफैँ गर्थिन् । ‘उपत्यकाका अस्पतालमा महिलाको सुत्केरी गराउँदा बच्चाको डाक्टर, बेहोस गराउने डाक्टर, अपरेसन गर्ने डाक्टर चाहिन्छ,’ उनी भन्छिन्, ‘त्यहाँ म एक्लै सबैको भूमिका निभाएर काम गर्थेँ ।’ महिलाले आफूलाई जहाँ गएपनि प्रमाणित गर्नुपर्ने उनी बताउँछिन् । भन्छिन्, ‘म आफूलाई प्रमाणित गर्न सिन्धुली अस्पतालमा ३ सय ६५ दिनमा १५ पनि छुट्टी नबसी काम गर्थें ।’

सिन्धुली अस्पताल नेपालभरिको ८२ ओटा अस्पतालमध्ये २०७४ र २०७५ मा उत्कृष्ट अस्पताल बनेको थियो । त्यतिबेला उनी त्यहाँकी मेडिकल सुपरिटेन्डेन्ट थिइन् । 
सिन्धुलीमा राम्रो काम गरेर २०७४ सालमा उनी स्वास्थ्य सेवाबाट पुरस्कृत भइन् । यसरी १४ वर्ष उपत्यका बाहिर बसेर उनले स्वास्थ्य क्षेत्रमा काम गरिन् । 
उनी सिन्धुली अस्पतालमा काम गर्दा प्रदेश सभा सदस्य युवराज दुलाल सामाजिक विकास मन्त्री थिए । डा. सुमित्राको कामलाई दुलालले नजिकबाट नियालिरहेका थिए । उनैले भक्तपुर अस्पतालको भद्रगोल अवस्था सुधार्न डा. सुमित्रालाई रोजेका थिए । उनले त्यसबेला भक्तपुर अस्पताल आउन मानेकी थिइनन् । भक्तपुर अस्पतालमा काम गर्ने वातावरण छैन भन्ने उनले सुनेकी थिइन् । त्यसमाथि उनलाई अझै सहरभन्दा गाउँतिरै बसेर सेवा गर्ने मन थियो । तर, उनी आउनैपर्ने भयो । 

भक्तपुर अस्पताल आउँदाको पहिलो दिन अहिले पनि उनी सम्झिन्छिन् । भक्तपुर अस्पताल वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भन्ने उनले सुनेकी थिइन् । तर, अस्पताल देख्दा उनी तीन छक्क परिन्  । अस्पताल गाउँको प्राथमिक स्वास्थ्य केन्द्रसँग पनि दाँज्न नमिल्ने खालको थियो । ‘बिरामीले कहाँबाट कुन रोगको सेवा लिने भन्ने बोर्डसमेत थिएन,’ उनी सम्झिन्छिन्, ‘स्टाफको आउने/जाने ठेगान थिएन । महिनौँ घर बसेर हाजिर गर्नेहरू थिए ।’

डा. सुमित्रा भक्तपुर अस्पताल आउँदा आईसीयूका लागि सामान भित्रिएको तीन वर्ष भइसकेको थियो । तर, आईसीयूप्रति उनले कसैको चासो देखिनन् । ‘आईसीयू खोल्यो भने काम गर्नुपर्छ भनेर सामान थन्काएर राखेका रहेछन्,’ उनी भन्छिन्, ‘आईसीयू सुरु गर्न खोज्दा मानिसहरू कुट्छौँ भनेर पनि आए । तर, म पछाडि हटिनँ ।’

केही कर्मचारी भने अस्पताल बन्नुपर्छ भन्ने मानसिकताका पनि थिए । उनीहरूले गर्दा कामै नगर्ने कर्मचारीहरू पनि बिस्तारै काममा फर्किएको उनी बताउँछिन् । ‘नत्र त्यसबेला भक्तपुर अस्पताल मन्त्रालयबाट कारबाही गर्दा पठाउने ठाउँ, कसैको हातखुट्टा भाँचिँदा आराम गर्ने ठाउँ बनेको रहेछ,’ उनी भन्छिन्, ‘कसैमा पनि काम गर्नुपर्छ भन्ने भावना थिएन ।’

भक्तपुर नगरपालिकाले पनि सुरुमा अस्पतालप्रति खासै चासो देखाएको थिएन । भ्रष्टाचार हुने ठाउँ भनेर पन्छिने गरेको थियो । तर, डा. सुमित्रा आएपछि नगरपालिका पनि समन्यव गर्न तयार भयो । त्यही बेला कोभिड–१९ महामारी फैलियो । उनले आफूलाई भक्तपुर अस्पतालमा प्रमाणित गरेर देखाउने बेला त्यही थियो । निजी अस्पतालबाट लखेटिएका सबै बिरामी भक्तपुर अस्पताल आए । त्यतिबेला उनले आफूले सक्दो गरिन् । लगभग दुई सय बिरामी अस्पतालले हेर्यो । उनको नेतृत्वमा खरिपाटीमा २ सय ५ बेडको आइसोलेसन सेन्टर चल्यो । कोभिडको बेलामा अस्पतालमै खाने/बस्ने व्यवस्था गरेपछि कर्मचारीहरू पनि खुसी भए ।

कर्मचारीलाई काम गराउने डा. सुमित्राको आफ्नै तरिका छ । अरुले काम गरोस् भन्नका लागि पहिला उनी आफैँ काममा होमिन्छिन् । ‘कर्मचारी १० बजे आऊन् भन्न पहिला आफैँ आउनुपर्छ,’ उनी भन्छिन्, ‘महिनामा एकपटक हाजिर गर्नेहरू पनि म १० बजे आउन थालेपछि समयमै आए । कोही लाजले आए, कोही डरले । कोही काम गर्नुपर्छ भन्ने भावना बोकेर पनि आए ।’ अरुलाई काम गराउन पहिला आफू रोलमोडल हुनुपर्छ भन्ने उनको तर्क छ ।

उनले आफ्नो अफिस बनाएको कोठा पहिला कवाडखाना जस्तो थियो । ‘कसैले सरसफाईमा चासो नदेखाएपछि म आफैँ कुचो बोकेर हिँडे,’ उनी भन्छिन्, ‘त्यसपछि दुई, चार, आठ हुँदै थप्रै हात भेला भए । म यहाँ आएर जादू गरेको होइन । ठाउँ त्यही हो, कर्मचारी तिनै हुन् । मैले मात्र उनीहरूलाई राम्रोसँग परिचालन गर्न सकेको हुँ ।’


‘पाँच/सात हजार कर्मचारी भएका अस्पताल १५ सय बिरामीको उपचार गर्दैनन्,’ उनी थप्छिन्, ‘हामी २ सय ३४ जनाले त्यति नै बिरामीको उपचार गरिरहेका छौँ ।’
पहिला दिनहुँ एक सय जना पनि बिरामी नआउने भक्तपुर अस्पतालमा अहिले १२ सय जनासम्म आएको रेकर्ड अस्पतालसँग छ । तर, सरकार परिवर्तन हुने बित्तिकै नेतृत्व परिवर्तन भइहाल्छ । यसले कर्मचारीलाई राम्रोसँग काम गर्न नदिने उनी बताउँछिन् । ‘मैले गरेको काम मेडिकल माफियाहरूलाई पचेको थिएन/छैन,’ उनी भन्छिन्, ‘यहाँ आएर मैले भ्रष्टाचारको जालो हटाएँ । तर, राम्रो काम गरेकोसँग मतलब हुँदैन । कसले कति पैसा खुवाउन सक्छ भन्नेमै सबैको ध्यान छ ।’

यी सबैका बावजुद आफ्नो यात्रालाई फर्केर हेर्दा डा. सुमित्रालाई खुसी नै लाग्छ । जीवनकालमा उनी जहाँ–जहाँ गइन्, मानिसहरूमा सरकारी स्कुल र अस्पताल काम लाग्दैन भन्ने भाव उनले पाइन् । तर, सरकारी अस्पताल काम लाग्दैनन् भन्ने मनोभावलाई केही हदसम्म भए पनि चिर्न सफल भएकोमा उनी खुसी छिन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x