समाज

पठाओले पैसा घटाइदिएपछि साइकल चालक आन्दोलनमा

अतिन आचार्य |
असार २४, २०८० आइतबार १५:५६ बजे

काठमाडौँ- पठाओले खाना डेलिभरी शुल्क घटाएपछि ‘साइकल चालक’ आन्दोलनमा उत्रेका छन् । एकसातादेखि पठाओले डेलिभरी चार्ज घटाएको थियो । खाइपाइ आएको रकम घटेपछि साइकलबाट खाना पुर्‍याउने चालकहरुले विरोध स्वरुप सडकमा आएका हुन् । उनीहरु  गौशालामा भेला भएर  माइतीघर लागेका  थिए । 

 मध्यान्हमा गौशालादेखि आएका साइकल चालकलाई प्रहरीले बानेश्वरमा केही समय रोकेका थिए । उद्बेश्य थाहा पाएपछि प्रहरीले उनीहरुलाई छाडिदिएको थियो । उनी बानेश्वर हुँदै माइतीघरतर्फ लागेका थिए ।


यसअघि पठाओले एक पटक खाना डेलिभरी गरेको सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । पछिल्लो समय पठाओले डेलिभरी चार्ज घटाएर ८५ रुपैयाँमा झारेको आन्दोलनमा सहभागी विशाल तामाङले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा साइकलबाट खाना डेलिभरी  गर्ने ४ सयभन्दा बढी चालक रहेको उनले बताए  । आफूहरुले पाउँदै आएको सेवासुविधा कटौती गर्न नहुने मुख्य माग रहेको तामाङको भनाइ छ ।

‘बिहानदेखि साँझसम्म काम गर्दा पनि हजार रुपैयाँ संकलन गर्न सकिँदैन,’ उनले भने,’ अझ डेलिभरी चार्ज घटाउने हो भने कामै नगरेपनि हुन्छ ।   डेलिभरी चार्ज घटाएपछि दैनिक ५ देखि ६ सय रुपैयाँ भन्दा जम्मै गर्न सकिन्‍न ।‘

तामाङका अनुसार आफूहरुले सर्भिस चार्ज मात्र बढाउनु भन्दा कम्पनीले बेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । सर्भिस चार्ज घटाएपछि काम गर्न पनि मन लाग्न छोडेको उनले दुःखेसो पोखे ।

'दिनभर इन्टरनेट अन राख्नुपर्छ । नेटमा मात्र   दैनिक सय रुपैयाँ बढी सकिन्छ ।  साइकलमा खाना डेलिभरी गर्नु मोटरसाइकलमा गरे जस्तो सहज पनि हुँदैन,'उनले भने । साइकलमा खाना पुर्‍याउँदा शारीरिक र मानसिक रुपमा थकित  हुने पनि उनको भनाइ थियो । पठाओले मोटरसाइकल भन्दा साइकल चालकलाई हेपेको तामाङको अनुभव छ ।

चावहिल क्षेत्रमा खाना डेलिभरी रमेश भुजेलले केही दिनअघि मात्र नयाँ साइकल किने । खाना डेलिभरीको काम गर्न नै आफूले साइकल किनेको भए पनि पठाओले यही बेला चार्ज घटाएकाले आफू मारमा परिरहेको उनले बताए ।

‘साथीहरूको सल्लाहमा पठाओको काम गर्न साइकल किनेँ तर, अहिले चार्ज घटाएकाले आन्दोलनमा आउनुपरेको छ,’ उनले भने,’ १६ हजारमा किनेको साइकलको मूल्य निकाल्न गाह्रो हुने भयो ।‘ 

यसअघि पाइरहेको डेलिभरी चार्ज पाउनुपर्ने भुजेलको पनि माग छ । उनले डेलिभरी चार्ज घटाउनु परे पनि सल्लाह गरेर घटाउनु पर्ने  धारणा व्यक्त गरे । ‘कम्पनीले एक्कासी चार्ज घटाएकाले साइकल चालकलाई मार परेको छ । हाम्रो कारणले पठाओबाट खाना मगाउनेलाई असहज भइरहेको छ,’ उनले थपे ।

खाना डेलिभरी गर्न छोडेर आन्दोलनमा आउँदा पनि ग्राहकले खानाको लागि रिक्वेस्ट पठाइरहेको उनले बताए । 

पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले पठाओका साइकल चालकका लागि क्यालकुलेट गरी प्रतिकिलोमिटर लाग्ने शुल्क घटाएको बताएका छन् । उनका अनुसार खानाको माग र सप्लाइको आधारमा डेलिभरी चार्ज घटाइएको हो । यसभन्दा अघि साइकल चालकले सय रुपैयाँ पाउँथे । अहिले चालकले ८५ रुपैयाँ पाउने गरेका छन् । अतिरिक्त चार्जबाट घटाएर चालकले ५० प्रतिशत चार्ज पाउँछन् ।

‘केही संख्यामा मात्र साइकल चालकले आन्दोलन गरेका हुन्,’ उनले भने,’ उनीहरूको माग भनेको एउटा रेष्टुरेण्टबाट २ वटा ग्राहकका लागि खाना लगेको छ भने पहिलोबाट पाएको चार्ज सरह दोस्रो ठाउँबाट पाउनुपर्छ भन्‍ने हो । यसो गर्नु व्यवसायिक धर्म होइन ।‘

मोटरसाइकलबाट खाना पुर्याउनेलाई भन्दा साइकलबाट खाना डेलिभरी गर्नेलाई फाइदा भएको थापाको भनाइ छ । पठाओमा दर्ता भएका साइकल चालक साढे ५ सयदेखि ६ सय रहेको उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x