समाज

बाली सप्रिने लोभले खेतमै छ्‍वाली बाल्दा वायु प्रदूषणको खतरा

सुनीता साखकर्मी |
जेठ ६, २०७८ बिहीबार १३:२६ बजे

काठमाडौँ : यो गहुँ काट्ने सिजन हो । खेतमा पहेँलै झुलेका गहुँका बाला काटेर चुट्दै रित्तो भण्डार भर्ने समय । कोभिड-१९ को महामारीलाई छल्दै कृषकहरू गहुँ भित्राउन व्यस्त छन् । 

तर पछिल्लोसमय गहुँ काटेर जम्मा हुने चिसै छ्वाली जथाभावी बाल्ने क्रम पनि बढ्दो छ । उपत्यका लगायत देशका विभिन्न ठाउँमा कृषकहरूले चिसो छ्वाली बाल्दा हुने वातावरण प्रदुषण चिन्ताको विषय बनेको छ । खेतखेतमा बालिएका यस्ता छ्वालीले सास फेर्ने गाह्रो भएको भन्दै थुप्रैले विरोध पनि गरेका छन् । तर उनीहरूलाई सकारात्मक भन्दापनि नकारात्मक टिकाटिप्पणी गर्ने गरेका छन् ।


कृषकहरू छ्वाली जलाएर प्राप्त हुने खरानीले बालीनाली सप्रिने विश्वास गर्छन् । साथै छ्वाली बाल्दा खेतमा हुने नराम्रा किराफट्याङ्ग्रा मर्ने विश्वास पनि गर्छन् । तर यसरी छ्वाली बाल्न नहुने विज्ञहरू बताउँछन् । वातावरणविद् भुषण तुलाधरका अनुसार किसानले यी छ्वालीको पुनः प्रयोग गर्ने बैकल्पिक उपाय नजानेको कारण जलाएको वा खरानीले कृषिजन्य उत्पादन बढ्छ भन्ने विश्वासका कारण जलाएको हुन सक्छ । 

तुलाधरका अनुसार भारतको दिल्ली लगायत विभिन्न क्षेत्रको वातावरण प्रदुषणको प्रमुख कारणहरूमध्ये कृषिजन्य सामग्रीहरू जलाउनु पनि एक हो । नेपालको वातावरण प्रदुषण पनि त्यतिसारो कम भएको छैन । यस्तो अवस्थामा चिसो छ्वाली लगायत कृषि सामग्री बाल्दा वातावरणमा नकारात्मक असर गर्न सक्छ । 
‘दाउरा, छ्वाली बाल्दा निस्कने धुँवाले असर गर्छ,’ उनी भन्छन्, ‘साथै यस्ता कुराहरू बाल्दा स–साना कणहरू निस्कने गर्छ, त्यो मानव शरीरमा प्रवेश गरे, त्यसले पनि नकारात्मक असर गर्छ । त्यसैले सावधान रहनुपर्छ ।’

थुप्रै कृषकहरू छ्वाली बाल्दा आउने सेतो धुँवा अन्य चिज बाल्दा निस्कने कालो धुँवा जति हानीकारक नहुने टिप्पणी गर्छन् । तर यसमा कुनै सत्यता नभएको तुलाधर प्रष्ट पार्छन् । उनका अनुसार धुँवा सेतो भएपनि, कालो भएपनि असर गर्छ । उनका अनुसार कुनै पनि चिज बल्नको लागि इन्धनको स्रोत र अक्सिजन दुबै आवश्यक पर्छ । र उक्त चिज बाल्ने प्रक्रियाले पनि कम वा बढी प्रदुषण गर्ने हुन्छ । त्यसका लागि हावाको वहाव राम्रो भएको ठाउँमा बाल्दा राम्रोसँग बल्ने हुन्छ । छ्वाली पनि इन्धनको स्रोत नै हो । साधारण दाउरा बाल्दा त वायु प्रदुषण हुन्छ, छ्वाली बाल्दा पनि आउने धुँवाले असर गर्छ । तर सुकेको भन्दा चिसो छ्वाली बाल्दा झनै बढी धुँवा आउँछ, जसले बढी असर गर्छ । तुलाधर भन्छन्, ‘त्यसैले छ्वालीको बैकल्पिक प्रयोजनका उपायहरू पत्ता लगाउनुपर्छ । सरकारले यसमा कृषकलाई साथ दिँदै मार्गनिर्देश गर्नुपर्छ ।’ 

पर्माकल्चर डिजाइनर एवं प्रशिक्षक गोविन्द शर्मा पनि खरानीको लोभमा चिसो छ्वाली नबाल्नको लागि कृषकलाई अनुरोध गर्छन् । बरु यसलाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्न सुझाव पनि दिन्छन् । छ्वाली बटुलेर के काम, ठाउँमात्रै ओगट्छ , बरु जलाएर आएको खरानीले खेतमा फाइदा पुग्छ भनेर जलाउनै ठिक मान्ने गरेको शर्मा बताउन्छन् । उनी भन्छन्, ‘सही प्रयोग गर्न जाने छ्वाली निकै उपयोगी साधन हो । यसबाट कम्पोष्ट मल बनाउन सकिन्छ, गाइबस्तुको लागि आहार हुन्छ । आफ्नो नभए अन्य कृषकलाई बेच्न सकिन्छ । जलाउनै पर्छ भन्ने छैन ।’ 

अचेल छिटो र छरितोको लागि कृषकले थ्रेसरले गहुँ चुट्ने गरेका छन् । जसका कारण झनै छ्वाली धुलो हुन्छ । जसको पुनः प्रयोग गर्न हत्तपत्त गाह्रो हुन्छ । त्यसैले पनि कृषकले खेर गएका छ्वाली बाल्ने गरेका छन् । त्यस्तै पछिल्लोसमय गाइबस्तुलाई घाँसको सट्टामा दाना नै खुवाउने चलन बढ्दो छ । जसका कारण लागत बढी हुन्छ । त्यसको सट्टामा घाँसहरूको मात्रा बढाउन सकिने शर्मा सुनाउँछन् । 

कृषकले त्यसका लागि भर्खर काटिएका छ्वाली पनि खुवाउन सक्छन् । उनी भन्छन्, ‘छ्वाली नजलाउँदा जति फाइदा छ, त्यो जलाउँदा त्यति नै बेफाइदा छ । जति छ्वाली बालिन्छ, त्यसको १ वा २ प्रतिशत मात्रै खरानी पाउछौँ, जसले पुरै खेतमा छर्न पनि मिल्दैन । त्यसैले यसलाई बरु बस्तुपालन गरेका कृषकलाई दिने वा अन्य व्यवस्थापनका विधि अपनाउन सकिन्छ । जसले गर्दा यी छ्वालीको पुनःप्रयोग हुन्छ र वातावरण प्रदुषणको चिन्ता हुन्न ।’

तस्बिरहरू : दिपेन्द्र लागेजु  र केपी खटाखोको फेसबुकबाट


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x