समाज

ब्राण्डेड दरबारमार्गमा रैथाने हाट बजार

अतिन आचार्य |
साउन १, २०८० सोमबार १४:७ बजे

काठमाडौँ- तपाईं दरबारमार्ग भन्नसाथ के सोच्नुहुन्छ ? ठूला-ठूला विदेशी ब्राण्डका घडी शो रुम, लुगा पसल, मोबाइल सप, रेष्टुरेण्ट-होटल तथा कफी सप र सफा सडक यहीँ सोच्नु हुन्छ होला । अब भने खानाका पारखी र फेसनमा रुचि राख्नेले दरबार मार्गमा फरक दृश्य देख्‍न पाउनेछन् ।

विदेशी ब्राण्डका लुगा तथा खानाका पारखीले समेत दरबार मार्गको ओरियन्ट क्याफेमा रैथाने एग्रो प्रोडक्टस नेपालको आयोजनामा नेपालमा उत्पादित कृषि थोक तथा सामग्रीहरू अवलोकन गर्न पाउने भएका छन् ।


दरबार मार्ग जाने ग्राहकले नेपालकै पाखा-बारीमा उत्पादित कृषि जन्य वस्तुहरू अवलोकन गर्न पाउने छन् । प्रत्येक शनिबार कृषि जन्य सामग्रीको स्टल राखिने गरि सोमबारदेखि रैथाने कृषि हाट बजार सुरु भएको छ । बिहान ६ बजेदेखि १२ बजेसम्म ग्राहकले अवलोकन गर्न पाउँछन् ।

आजदेखि दरबार मार्गमा कृषि जन्य सामग्रीको बिक्री सुरु गरिएको रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए । आज कृषि जन्य बजारको उद्घाटन मात्र गरिएको उनले जानकारी दिए ।

कृषि हाट बजारमा पहिलो दिन २० वटा स्टल राखिएको थियो । बारीमा उत्पादित आर्गानिक फलफुल तथा कृषि जन्य सामग्री राखिएको थियो । फर्सीको मुन्टा, रायो साग, मह, आलु र तथा अन्य सामाग्री राखिएको थियो ।

सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिएको ढकालले बताए । मोही पार्ने ठेकी,पुराना बती, शंख, डाला र नाङ्ला जस्ता सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

व्यवसायीले आर्गानिक कृषि जन्य सामग्री मात्र बिक्रीका लागि ल्याउने ढकालको भनाइ छ । विभिन्न जिल्लाका कृषकले उत्पादन गरेका सामाग्री मात्र बिक्री गर्न पाउने प्रस्ट पारे ।

उनका अनुसार रैथाने तथा स्थानीय खाद्यान्न, अन्न गेडागुडी,जडीबुट्टी, मौसमी फलफूल र तरकारी पाइन्छ । हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउ बिजन, विरुवा, फूल र प्राङगारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन, मासुजन्य थोक र बेकरी,कफी तथा चिया उपलब्ध हुन्छ ।

‘घरको आँगनदेखि जंगलमा पाइने वस्तुहरू बिक्रीका लागि राखिन्छ,’ ढकालले भने,’ आलु, जंगलमा उत्पादित मह तथा अन्य परिकारहरू समेत पाइन्छ ।‘ उत्पादक किसान उपभोक्ताबीच सिधा सम्पर्क हुने संगमस्थल बनाइएको उनले धारणा राखे ।

‘किसान र व्यापारीलाई उत्पादन गर्दाको अनुभव सुनाउँदै ग्राहकलाई सामान बिक्री गर्न पाउँछन्,’ उनले थपे,’  कृषि प्रवर्द्धनमा साझेदारी र सहकार्यका लागि अवसर सिर्जना गरिन्छ । जैविक विविधता र मौलिक नेपाली खानाको प्रचारप्रसार गरिने वातावरण बन्छ ।‘

रैथाने हाट बजारमा ज्ञान, कला सीप तथा कृषि प्राविधिकहरूले युवाहरूलाई नयाँ जानकारी दिने कार्यशालासमेत गरिने ढकालले बताए । बजारलाई व्यवस्थित बनाउन अनुगन टोलीसमेत बनाएको उनले जानकारी दिए

ढकालका अनुसार पाँच सदस्यीय अनुगमन तथा निरीक्षण टोली हुनेछ । आयोजकको संयोजकत्त्वमा १ जना पोषण विज्ञ, १ जना रैथाने विज्ञ हुने छन् ।

‘अनुगमन समितिले किसान, कम्पनी तथा फर्महरूको पहिचान गर्नेछ । खाद्यान्न गुणस्तर कायम गर्ने र हाटबजारकोम व्यवस्थापनलाई चुस्त राख्‍न समन्वयकारी भूमिका खेल्नेछ,’ उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x